काठमाडौं । कर्मचारी सरुवा भएपछि हेलो सरकारको फेसबुक पेज र एक्स ह्यान्डल निष्क्रिय भएको छ । सर्वसाधारणले गुनासो राख्ने हेलो सरकारको एक्स ह्यान्डल र फेसबुक पेज करिब डेढ महिनादेखि निष्क्रिय अवस्थामा रहेको हो ।
दुई लाख ६७ हजार बढी फलोअर भएको एक्स ह्यान्डलबाट दिनहुँ कुन माध्यमबाट कति गुनासो प्राप्त भए, कति गुनासो सम्बन्धित ठाउँमा पठाइए, कति गुनासो समाधान भई फर्स्यौट भए भन्ने विषयको जानकारी पोस्ट हुन्थ्यो ।
त्यसबाहेक सर्वसाधारणले एक्समा हेलो सरकारको ह्यान्डल मेन्सन गरेर गुनासो राख्थे । ती पोस्टमा हेलो सरकारले सम्बन्धित निकायलाई मेन्सन गरेर ध्यानाकर्षण गराउँथ्यो । तर, सरुवा भइसकेका शाखा प्रमुखको नम्बरमा कोड आउने भएकाले र नयाँ शाखा प्रमुखको नम्बरमा अथेन्टिकेटर एड गर्नुपर्ने भएकाले समय लागेको हेलो सरकारका आईटी इन्जिनियर विनय सुवेदीले बताए ।
“शाखाको सरहरू चेन्ज हुनु भएको थियो,” सुवेदीले भने, “नयाँ सिमकार्ड हिजो आज मात्र किनेका छौं । टु फ्याक्टर अथेन्टिकेटर, अथेन्टिकेसन नयाँ आउनु भएको सरहरूको नम्बरमा राख्ने भनेकाले ढिलो भएको हो ।” नयाँ शाखा प्रमुख र कर्मचारीलाई एक्सेस दिने निर्णय भएपछि मात्र पोस्ट र अपडेट राखिने उनले बताए ।
हेलो सरकारको एक्स ह्यान्डलबाट अन्तिम पटक २८ सेप्टेम्बरमा पोस्ट रिपोस्ट गरिएको देखिन्छ । आफैंले पोस्ट गर्ने वा रिप्लाई गर्ने काम हेलो सरकारको ह्यान्डलबाट १७ मे पछि गरिएकै छैन । त्यस्तै हेलो सरकारको फेसबुक पेज पनि १५ मे यता निष्क्रिय छ ।
यसअघि पनि कर्मचारी सरुवा भएपछि हेलो सरकारका सामाजिक सञ्जाल अकाउन्टहरू अलपत्र परेका थिए । त्यसबेला सरुवा भएका कर्मचारीले पासवर्ड नै भुलेपछि सामाजिक सञ्जाल कम्पनीलाई चिठी पठाएर झन्डै दुई महिनापछि अकाउन्ट फिर्ता ल्याइएको थियो ।