close

बाइक चोरी गरी पाटपुर्जा फेसबुक मार्केटप्लेसमा राख्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

मंसिर १६, २०८१ १२:२६

बाइक चोरी गरी पाटपुर्जा फेसबुक मार्केटप्लेसमा राख्ने व्यक्ति पक्राउ

काठमाडौं । बाइक चोरी गरी पाटपुर्जा निकालेर फेसबुक मार्केटप्लेसमा राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नम्बर १७ का २२ वर्षीय विजय थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले आरोपी थापालाई १२ मंसिरमा नियन्त्रणमा लिएको हो । आफ्नो बाइक चोरी भएको भन्दै सवारीधनीले गत महिना प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

पीडितका अनुसार ५ कात्तिक २०८१ बेलुका ६ बजे चिप्लेढुङ्गा, पोखराको ट्रेडमिल अगाडि राखेको ड्युक बाइक चोरी भएको थियो । प्रहरी कार्यालयमा तत्कालै निवेदन दिए पनि एक महिनासम्म बाइक फेला परेको थिएन ।

फेसबुक मार्केटप्लेसमा विजय थापा नामबाट ड्युक बाइकका पाटपुर्जा बिक्रीका लागि राखेको भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले थापालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार थापाले मोटरसाइकल चोरी गरेर त्यसका पाटपुर्जा अलग गरी बिक्रीका लागि राखेको स्वीकार गरेका छन् ।

प्रहरीको अनुसन्धानमा ती पाटपुर्जा उनले भाडामा लिएको कोठामा लुकाएर राखेको पाइएको छ ।

जिल्ला अदालत कास्कीले चोरी तथा डाँकासम्बन्धी कसुरमा थापामाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०८१ १२:३१