काठमाडौं । अन्ततः ओपनएआईले टेक्स्टका आधारमा वास्तविक जस्तो भिडिओ सिर्जना गर्ने क्षमता भएको एआई टुल सोरा सार्वजनिक गरेको छ । १२ दिनको लगातार फिचर, टुल र डेमो सार्वजनिक गर्ने ‘सिपमस’ इभेन्ट अन्तर्गत सोमबार सशुल्क प्रयोगकर्ताका लागि सोरा उपलब्ध गराइएको हो ।
खासमा ओपनएआईले सोरा गत फेब्रुअरीमै ल्याएको थियो । तर लामो समयसम्म कम्पनीले निश्चित क्रियटरहरूलाई मात्र यो टुल उपलब्ध गराएको थियो । यस बीचमा सोरा प्रयोग गरेर म्युजिक भिडिओ समेत बनाइएको छ ।
यस टुलमा sora.com मार्फत पहुँच पाउन सकिन्छ । कम्पनीका अनुसार हाल अमेरिका र केही देशमा सोरा टर्बो मोडल उपलब्ध भइसकेको छ । यसअन्तर्गत च्याटजीपीटी प्लस र च्याटजीपीटी प्रो प्रयोगकर्ताले यस टुल चलाउन सक्नेछन् ।
च्याटजीपीटी प्लस प्रयोगकर्ताले मासिक ७२० पिक्सेल रेजोलुसनको ५ सेकेन्डसम्मका ५० ओटा भिडिओ र प्रो प्रयोगकर्ताले १०८० पिक्सेल रेजोलुसनको २० सेकेन्डसम्मका ५०० ओटा भिडिओ बनाउन सक्नेछन् । यसका साथे उनीहरूले वाटरमार्करहित भिडिओ डाउनलोड गर्न पाउने र एकै पटक पाँच ओटासम्म भिडिओ तयार पार्नसक्ने बताइएको छ ।
हाल क्रमशः प्लस र प्रोको शुल्क मासिक रूपमा २० (करिब तीन हजार रुपैयाँ) र २०० डलर (करिब २७ हजार रुपैयाँ)रहेको छ ।
ओपनएआईका अनुसार यस टुलले बनाउने भिडिओहरूमा 'एआईले बनाइएको' भन्ने सङ्केत राखिने छ । त्यस्तै भिडिओ बनाउन अपलोड गरिने फोटो/भिडिओमा १८ वर्षभन्दा कम उमेरका व्यक्ति नहुनु पर्ने, गैरकानुनी सामग्री नहुनु पर्ने, कपिराइट नहुनु पर्ने बताइएको छ । यदि त्यस्ता सामग्री राखे अकाउन्ट प्रतिबन्ध हुनसक्ने बताइएको छ । विशेषतः यस टुलले भिडिओ, एनिमेसन आदि बनाउन सक्छ ।
नेपालमा कहिलेदेखि सोरा उपलब्ध हुन्छ भन्ने यकिन छैन ।