close

जब प्रतिस्पर्धा बिर्सेर मिस्टर बिस्ट र टी-सिरिजले गरे युट्युबमा एक अर्कालाई सब्स्क्राइब...

टेकपाना टेकपाना

मंसिर २६, २०८१ १२:२३

जब प्रतिस्पर्धा बिर्सेर मिस्टर बिस्ट र टी-सिरिजले गरे युट्युबमा एक अर्कालाई सब्स्क्राइब...

काठमाडौं । युट्युब प्लेटफर्ममा टी-सिरिज र मिस्टर बिस्टलाई कडा प्रतिद्वन्द्वीका रूपमा हेरिन्छ । यी दुई च्यानलहरूबीच सबैभन्दा धेरै सब्स्क्राइबर कसको हुने भन्ने विषयमा लामो समयदेखि तीब्र प्रतिस्पर्धा चलिरहेको छ । 

टी-सिरिज भारतीय म्युजिक कम्पनी हो । म्युजिक भिडिओ र मनोरञ्जन सामग्री प्रसारण गर्ने यो कम्पनी विश्वभरका दर्शकमाझ लोकप्रिय छ । सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता रहेको देश भारतकै च्यानल भएकाले पनि यसका समर्थक बढी छन् । 

उता मिस्टर बिस्ट व्यक्तिगत च्यानल हो । यसका सञ्चालक अमेरिकी नागरिक जिमी डोनाल्डसन हुन् । उनी अनौठा च्यालेन्ज, समाजसेवाका काम र रचनात्मक सामग्रीको कारण लोकप्रिय छन् । 

टी-सिरिज र मिस्टर बिस्ट अहिले एक अर्कालाई सब्स्क्राइबर गरेका कारण चर्चामा छन् । कडा प्रतिद्वन्द्वी मानिएका उनीहरूले एक अर्कालाई सब्स्क्राइब गरेपछि उनीहरूको चर्चा भइरहेको हो । 

मिस्टर बिस्टले ९ डिसेम्बरमा फेसबुकमा एक भिडिओ पोस्ट गरेका थिए । भिडिओमा मिस्टर बिस्टले टी-सिरिजका सीईओ भुषणकुमार दुवालाई आफ्नो च्यानल सब्स्क्राइब गराउनकै लागि भारत आएको बताएका छन् । मिस्टर बिस्टले आफू भारत आएको कुरा भनिसकेपछि थप्छन्, “यदि तपाईंले मलाई सब्स्क्राइब गर्नुभयो भने म तपाईंलाई सब्स्क्राइब गर्नेछु ।”

त्यसपछि दुवा ‘हुन्छ, त्यसै गरौं’ भन्दै फोन निकाल्छन् र मिस्टर बिस्टको च्यानल सब्स्क्राइब गर्छन् । त्यसपछि मिस्टर बिस्ट उत्साहित हुँदै ‘टी-सिरिजले मिस्टर बिस्ट सब्स्क्राइब गरेका छन्’ भन्छन् । र, आफ्नो पालो आएपछि मजाक गर्दै मेरो फोन अफ भएजस्तो छ भन्छन् । उनी अगाडि भन्छन्, “म मेरो फोन चार्ज गरेपछि सब्स्क्राइब गर्छु है ।” त्यस लगत्तै मजाक गरेको भन्दै टी-सिरिज सब्स्क्राइब गर्छन् । र, प्रतिद्वन्द्वीको दौड सकिएको बताउँछन् । 

टी-सिरिज र मिस्टर बिस्टको प्रतिस्पर्धा हुनुअघि टी-सिरिज र प्युडिपाईको प्रतिस्पर्धाले चर्चा पाएको थियो । सन् २०१९ मा कसले सबैभन्दा पहिले १० करोड सब्स्क्राइबर पूरा गर्ने भन्ने प्रतिस्पर्धा चलेको थियो । त्यस समयमा मिस्टर बिस्टले प्युडिपाईलाई समर्थन गरेका थिए । 

यता भारतमा टी-सिरिजलाई जिताउने अभियान नै चलेको थियो । अन्ततः सबैभन्दा पहिले १० करोड सब्स्क्राइबर पुर्‍याउने होडमा टी-सिरिजले जितेको थियो । त्यसपछि प्युडिपाईको च्यानल निष्क्रिय हुँदै गयो । र, प्युडिपाईको ठाउँ मिस्टर बिस्टले लिए । त्यसपछि मिस्टर बिस्टलाई टी-सिरिजको कडा प्रतिस्पर्धीको रूपमा हेर्न थालियो । २० करोड सब्स्क्राइबरको मामलामा पनि टी-सिरिज नै अगाडि रह्यो । तर, ३० करोड सब्स्क्राइबरमा भने मिस्टर बिस्ट अगाडि आए । 

सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएका देशमध्येको एक भारतमा आफ्नो चर्चा बढाउन मिस्टर बिस्ट दौडधुपमा लागेका छन् । केही महिनाअघि मिस्टर बिस्टले भारतीय युट्युबर क्यारिमिनाटीलाई फिचर गरेका थिए । त्यसपछि क्यारिमिनाटीकै भिडिओमा पनि उनी देखिए । त्यसपछि भारतमै आएर आफ्नो चकलेट र ड्रिङ्क्स ब्रान्ड सार्वजनिक गरे । हाल उनको च्यानलमा ३३ करोड ६० लाख बढी सब्स्क्राइबर छन् । उता टी-सिरिजमा भने २८ करोड बढी सब्स्क्राइबर रहेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८१ १२:२३