काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्विसुब्बा गुरुङले हुलाकलाई डिजिटलाइजेसनको माध्यमबाट अगाडि बढाउनु पर्ने बताएका छन् । सोमबार आयोजित १५० औँ विश्व हुलाक दिवसको अवसर पारेर सरकारले प्रचलनमा ल्याएका दुई नयाँ हुलाक टिकटमा टाँचा लगाउँदै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
हुलाक सेवा विभागले मन्त्रालयमा आयोजना गरेको कार्यक्रम माझ टाँचा लगाइएका ती हुलाक टिकट नेपालमै जनक शिक्षा सामग्री केन्द्रले छापेको बताइएको छ । यस्ता छपाईका कामहरू स्वदेशमै गर्ने गरी सुरक्षण मुद्रण केन्द्रलाई प्रभावकारी ढङ्गबाट सञ्चालनमा ल्याउन आवश्यक रहेकोमा मन्त्री गुरुङले जोड दिए ।
"अब राहदानी, राष्ट्रिय परिचयपत्र, नागरिकता लगायतका स्मार्ट कार्ड नेपालमा नै छाप्न सकिने गरी काम अगाडि बढाउनु पर्छ," उनले भने । सरकारले हुलाक सेवालाई डिजिटल प्रणालीमा लैजाने घोषणा बारम्बार गर्दै आएको भए पनि त्यसतर्फ भने अहिलेसम्म काम हुन सकेको छैन ।
विभागका महानिर्देशक मनमाया भट्टराई पगेँनीले हुलाक सेवालाई डिजिटलाइज गरी यसको इतिहासलाई जगाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् ।