close

एनपीएलमा अनलाइन बेटिङ गरेको आरोपमा दुई भारतीय पक्राउ

टेकपाना टेकपाना

पुस ७, २०८१ १९:२४

एनपीएलमा अनलाइन बेटिङ गरेको आरोपमा दुई भारतीय पक्राउ

काठमाडौं । हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश जिल्ला आग्रा सिकान्द्रा पन्चायत घर भई हाल काठमाडौं टोखा न.पा. ३ ग्राण्डी टावरमा बस्ने ४७ वर्षीय हरिस जावा ‌र ३८ वर्षीय ऋषि मातन रहेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले आइतबार उनीहरूलाई ग्रान्डी टावरको नेप्चुन अपार्टमेन्टको सिक्सबी फ्ल्याटबाट नियन्त्रणमा लिएको हो । उक्त फ्ल्याटमा अनलाइन बेटिङ भइरहेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएपछि त्यसैका आधारमा विशेष टाेली खटिएको थियो । त्यहीँबाट दुई जनालाई अनलाइन बेटिङ गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिबाट सट्टेबाजी गराउन प्रयोग भएका पाँच ओटा मोबाइल, एउटा ल्यापटप र आठ ओटा एनसेलका सिम कार्ड बरामद गरेको छ । उनीहरूले कुन बेटिङ प्लेटफर्म प्रयोग गरेका थिए भन्ने खुलाइएको छैन। यसअघि एनपीएलकै दौरान अनलाइन बेटिङ गराएको आरोपमा चार जना भारतीय नागरिक पक्राउ परेका थिए । प्रहरीले आइतबार पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: पुस ७, २०८१ १९:२४