काठमाडौं । आफूलाई ‘भेक्सबोल्ट्स’ भनेर चिनाउने एक १९ वर्षीय टिकटकर दुई दिनमै ७० लाख बढी फलोअर पाउन सफल भएका थिए । उनलाई एकैपटक ठूलो सङ्ख्यामा टिकटक प्रयोगकर्ताले फलो गरेर यो सफलता दिलाए । तर, यो सफलता लामो समय टिकेन ।
नयाँ वर्ष २०२४ को पूर्वसन्ध्यामा ती टिकटकरलाई अनफलो गर्ने अभियान चल्यो । उक्त अभियानलाई ‘भेक्सबोल्ट्स मास अनफलोविङ डिसेम्बर थर्टी फर्स्ट’ (Vexbolts Mass Unfollowing December 31st) नाम दिइएको थियो ।
यो अभियानले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । टिकटक र युट्युब च्यानलहरूले भेक्सबोल्ट्सको लाइभ फलोअर्स काउन्ट देखाउँदै उत्सुकता थपिरहेका छन् ।
डिसेम्बरको मध्यतिर भेक्सबोल्स्टको टिकटकमा जम्मा १५ लाख हारहारीमा फलोअर थिए । तर, सामूहिक फलो गर्ने अभियानका कारण केही सातामै ८५ लाखसम्म फलोअर पुगे । तर अनफलो अभियानले उनले दुई दिनमै ७० लाख फलोअर गुमाएका छन् । अहिले २९ लाख हारहारीमा उनका फलोअर छन् । यो सङ्ख्या निरन्तर घट्ने क्रममा छ ।
भेक्सबोल्ट्सले के गरे, किन थालियो अनफलो अभियान ?
भेक्सबोल्स्ट अनलाइन कन्टेन्ट क्रियटर हुन् । उनले खेलेको फोर्टनाइट गेमको क्लिप भाइरल भएपछि उनी चर्चामा आएका थिए । त्यसपछि उनी टिकटकमा भाइरल कन्टेन्ट बनाउनतर्फ लागे । सन् २०२१ मा टिकटकमा जोडिएका उनले तीन वर्षको अवधिमा १५ लाख बढी फलोअर पाए ।
२०२४ डिसेम्बरको अन्तिम सातामा भने उनको फलोअरको सङ्ख्या एक्कासि उकालो लागेको थियो र त्यसरी नै ओरालो लाग्यो । कसरी यस्तो भयो ?
यो ट्रेन्ड अनलाइन ठट्टाका रूपमा सुरु भए पनि छिट्टै भाइरल घटना बनेको थियो । जहाँ टिकटक भिडिओमा ‘भेक्सबोल्ट्स मास अनफलोइङ डिसेम्बर ३१’ भन्ने वाक्य कमेन्ट गरिरहेका थिए । अहिले पनि कमेन्ट गरिरहेका छन् ।
यस अभियानको कारण स्पष्ट छैन । केही सहभागीले भेक्सबोल्ट्सको सामग्रीलाई ‘लाजमर्दो’ (क्रिन्ज) भनेका छन् भने केहीले यसलाई केवल रमाइलो ठट्टाका रूपमा लिएका छन् । उनलाई सन् २०२५ मा सान्दर्भिक क्रियटर बनाउने भन्दै अनफलो गर्न थालिएको पनि बताइन्छ ।
ट्रेन्डलाई बढावा दिने अन्य धेरै भिडिओले भेक्सबोल्ट्सकै ओरिजिनल साउन्ड प्रयोग गरेका छन् । जसमध्ये भाइरल ‘लो टेपर फेड’ मिमसँग जोडिएको गीत पनि छ ।
भेक्सबोल्ट्सलाई फलो गर्ने ट्रेन्ड २५ डिसेम्बरमा सुरु भएको थियो । टिकटक प्रयोगकर्ता अनइम्प्लोइड क्र्याशआउटको अनफलो इभेन्टलाई प्रवर्द्धन गर्ने भिडिओले एकै दिनमा साढे पाँच लाख बढी भ्युज पाएको थियो । त्यसपछि यो ट्रेन्ड प्लेटफर्मभरि तीव्र रूपमा फैलियो ।
भेक्सबोल्ट्स आफैंले पनि यो ठट्टालाई अङ्गालेका थिए । र, २० लाख फलोअर पुगेको खुसियालीमा भिडिओ पोस्ट गरेका थिए । फ्यानहरूले यो ट्रेन्डको व्यङ्ग्यात्मक पक्षलाई छिट्टै औंल्याए, किनभने उनलाई अनफलो गर्न गरिएको अभियानकै कारण उनको फलोअर सङ्ख्या बढिरहेको छ । डिसेम्बर २९ सम्ममा ५० लाख बढी फलोअर पुर्याएपछि भेक्सबोल्ट्सले कमेडी भिडिओ पोस्ट गर्दै ‘काई सेनाट’लाई सहयोगको अपिल गरेका थिए ।