काठमाडौं । इन्स्टाग्राममा नक्कली सेलिब्रेटीको माया जालमा पर्दा एक फ्रान्सेली महिला करोडौं रकम गुमाउन पुगेकी छिन् । ठगले एआईबाट तयार पारिएको हलिउड स्टार ब्राड पिटको आवाज र स्वरूप दुरुपयोग गर्दै महिलालाई चुना लगाएका हुन् ।
फ्रान्सेली अखबार सुड ओएस्टका अनुसार ५३ वर्षीया ती महिलाबाट ठगले आठ लाख ३० हजार युरो (करिब ११ करोड ७७ लाख रुपैयाँ) हत्याएका छन् । त्यसका लागि स्क्यामरले सबैभन्दा पहिले ब्राडकी आमा जेन एट्टा पिटको नामको नक्कली इन्स्टाग्राम अकाउन्ट बनाए । र, ती महिलासँग जोडिए ।
यसरी कनेक्ट भएपछि ती अभिनेताकी आमाको नामबाट महिलालाई मेसेज पठाउन थाले । पहिलो मेसेजमै ती महिलालाई स्क्यामरले ब्राड पिटलाई चाहिने जस्तो महिला तिमी नै हौ भनेर भ्रममा पारेका थिए । त्यसको भोलिपल्ट ती स्टारको एआईले तयार पारेको भिडिओ पठाई विश्वासमा पारेर महिलाबारे थप जान्न चाहेको बताए ।
त्यसपछि ती अभिनेताकी आमाबाट कुरा छोरासम्म पुग्यो । र, व्यक्तिगत अकाउन्ट भन्दै स्क्यामर हलिउड अभिनेताको नामको अकाउन्टबाट च्याट गर्न थाले । यसरी डेढ वर्षसम्म नक्कली ‘प्रेमी’ले उनलाई कविता लेख्ने र प्रेमका प्रस्ताव पठाउन थाले । र, अन्तिममा विवाहको प्रस्ताव गरे ।
यो योजना ठगी गर्नेहरूको थियो, जसले महिलालाई पैसा दिन बाध्य पार्न यस्तो जाल रचेका थिए । प्रहरीले अहिले यस ठगीको अनुसन्धान गरिरहेको छ । ठगले करोडौं लुटेपछि ती महिला डिप्रेसनमा परिन् । र, अहिले अस्पतालमा भर्ना भएकी छिन् ।
“थोरै पुरुषहरूले मात्र तपाईँलाई यसरी मेसेज लेख्छन् । म जोसँग कुरा गरिरहेकी थिएँ त्यो मान्छेलाई माया गर्थेँ । उसलाई महिलासँग कसरी कुरा गर्ने भन्ने थाहा रहेछ र यो योजना धेरै राम्रोसँग तयार पारिएको रहेछ,” पीडित महिलाले फ्रान्सेली मिडियालाई बताइन् ।
फ्रान्सेली सञ्चार माध्यम सुड ओएस्टका अनुसार त्यतिबेला ती महिला हलिउड अभिनेतासँग बिहे गर्ने सपना देख्न थालिन् । र, आफूभन्दा १९ वर्ष जेठा श्रीमानसँग सम्बन्ध विच्छेद गरिन् । उनका पूर्व श्रीमान् अर्बपति उद्यमी थिए ।
एआईको सहायताले महिलालाई भ्रममा पारिरहेका ठगले महिलाबाट रकम हत्याउन सबैभन्दा पहिले उपहारको प्रलोभन देखाए । उपहारमा महँगो झोला पठाएको भन्दै फोटो र भिडिओ पठाएर विश्वासमा पारे । त्यसपछि भन्सार शुल्क लाग्ने भन्दै नौ हजार युरो मागे । महिलाले त्यसलाई विश्वास गरिन् र रकम पठाइदिइन् ।
त्यसछि विभिन्न बहाना बनाएर झोलाको शीर्षक मोडे । र, बिरामी भएको नाटक गरे । ती ठगले एआईको सहायताले अभिनेता अस्पतालको बेडमा भएको नक्कली फोटो तयार पारे । र, आफूलाई मृगौलाको क्यान्सर भएको भन्दै उपचारको लागि पैसा चाहिएको बताए ।
हलिउडका त्यति चर्चित कलाकारले उपचारका लागि रकम माग्नु असामान्य थियो । यसमा महिलाले शंका पनि व्यक्त गरेकी थिइन् । तर, ती ठगसँग यसको तरिका थियो । ठगले अभिनेताकी पूर्वपत्नी एन्जेलिना जोलीले आफ्नो अकाउन्ट फ्रिज गरेकाले बैंक अकाउन्टमा तत्काल पहुँच नभएको भन्दै विश्वासमा पारे ।
महिला अझै पनि विश्वस्त भइनन् । त्यसपछि अभिनेताको नक्कल गरिरहेका ती ठगले आफू बाँच्नका लागि संघर्ष गरिरहेका छु भन्दै ईमेलमार्फत रिप्लाई दिए । विश्वस्त बनाउने थुप्रै प्रमाण पनि पठाइएको थियो । त्यसपछि ती फ्रान्सेली महिला विश्वस्त भइन् ।
यति भएपछि उनलाई टर्कीको एउटा खातामा ८ लाख युरो जति ट्रान्सफर गर्न भनियो । र, महिलाले भने जति रकम पठाइदिइन् ।
जब पीडितकी छोरीले उनकी आमालाई ठगी भइरहेको छ भनेर चेतावनी दिइन्, उनले जवाफ दिइन्, “ती हलिउड अभिनेता आफैँ आएपछि बल्ल तिमीलाई थाहा हुनेछ । त्यतिबेला तिमी उनीसँग मापी माग्नेछौं ।”
तर, सन् २०२४ को गर्मीमा वास्तविक पिटलाई उनकी वर्तमान श्रीमती इनेस डे रामोनसँग देखेपछि ती महिलालाई आफू ठगिएको थाहा भयो । र, उजुरी दिइन् ।