काठमाडौं । सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले यसअघि पनि अमेरिकामा टिकटक प्रतिबन्ध लगाउनु जायज नभएको बताउँदै आएका थिए । आइतबार टिकटक प्रतिबन्धमा परेपछि मस्कले यो अभिव्यक्ति स्वतन्त्रता विपरीत भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
त्यस्तै उनले सामाजिक सञ्जाल एक्स चीनमा प्रतिबन्धित रहेको विषयलाई पनि खोतलेका छन् । मस्कले टिकटक अमेरिकामा निर्वाध रूपमा सञ्चालन हुनु र उता चीनमा एक्सलाई प्रतिबन्ध लगाउनु अन्यायपूर्ण रहेको बताएका छन् ।
“म टिकटक प्रतिबन्धको विरोधमा छु, किनकि यो अभिव्यक्ति स्वतन्त्रता विरुद्ध जान्छ । यद्यपि, अमेरिकामा टिकटक चलिरहने तर चीनमा एक्स प्रतिबन्धित हुनु असन्तुलित छ । यसमा केही परिवर्तन हुनुपर्छ यद्यपि, अमेरिकामा टिकटक सञ्चालन गर्न अनुमति दिइएको छ भने चीनमा एक्स सञ्चालन गर्न अनुमति नदिइएको वर्तमान अवस्था असन्तुलित छ । यसमा केही परिवर्तन हुनुपर्छ,” मस्कले भनेका छन् ।
I have been against a TikTok ban for a long time, because it goes against freedom of speech.
That said, the current situation where TikTok is allowed to operate in America, but 𝕏 is not allowed to operate in China is unbalanced.
उनले टिकटकमाथिको प्रतिबन्धको विरोध गर्दै यसले एक्सलाई फाइदा पुग्ने भए पनि यो अमेरिकाको आदर्श विरुद्ध भएको बताएका थिए ।
अमेरिकामा १९ जनवरीदेखि चल्न छोडेको छ । अमेरिकी सर्वोच्च अदालतले टिकटकलाई अमेरिकामा सञ्चालन गर्नका लागि बिक्री गर्नुपर्ने अन्यथा यसमाथि प्रतिबन्ध लाग्ने फैसला सुनाएको थियो । बाइडेन प्रशासनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टिकटकको स्वामित्व चिनियाँ कम्पनी बाइटडान्सबाट अलग गर्न निर्देशन दिएको थियो । तर, बाइटडान्सले टिकटकको अमेरिकी स्वामित्व बेच्न अस्वीकार गरेको छ ।
नयाँ कानुन अनुसार एप्पल र गुगलले टिकटकलाई आफ्नो एप स्टोरबाट हटाएका छन् । अमेरिकामा करिब १७ करोड प्रयोगकर्ता रहेका थिए । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले टिकटकलाई ९० दिनको लागि प्रतिबन्धबाट छुट दिने सम्भावना भने छ ।
यता मस्कले टिकटकको समर्थनमा पोस्ट राख्नुलाई विज्ञहरूले विभिन्न तरिकाले विश्लेषण गरेका छन् । ट्रम्पलाई चुनावी अभियानमा मस्कले तन, मन र धन लगाएर सहयोग गरेका थिए । मस्क ट्रम्पका लागि महत्त्वपूर्ण व्यक्तिका रूपमा हेरिएका छन् ।
अब टिकटकको भविष्य ट्रम्प प्रशासनको हातमा छ । त्यसैले मस्कको यस टिप्पणीले खास अर्थ बोकेको छ । उनले अमेरिकामा टिकटकलाई प्रतिबन्धबाट हटाउने र त्यसको विकल्पमा अमेरिकी सामाजिक सञ्जाललाई चीनले हटाउनुपर्ने आशय राखेका छन् । त्यसो सम्भव भएको अवस्थामा टिकटकलाई अमेरिकामा निर्वाध रूपमा चल्न दिनुपर्ने उनको मत छ ।
मस्क अमेरिका र चीनको सम्बन्धका लागि निकै महत्त्वपूर्ण व्यक्ति पनि हुन् । मस्कको विश्वचर्चित विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको सबैभन्दा ठूलो मध्येको एक ‘गिगाफ्याक्ट्री’ चीनमा छ । त्यसैले चिनियाँ सरकारसँग पनि उनको राम्रो सम्बन्ध रहेको बताइन्छ ।
यता अमेरिकाको नेतृत्व गर्ने ट्रम्पका सबैभन्दा विश्वासिला पात्र मस्क छँदै छन् । त्यसैले दुई ठूला शक्तिशाली राष्ट्रबीचका महत्त्वपूर्ण व्यक्तिका रूपमा मस्क रहेका छन् । यद्यपि सोमबार ट्रम्प प्रशासनले टिकटकमाथिको प्रतिबन्ध हटाउँछ वा कायम नै राख्छ हेर्न बाँकी नै छ । ट्रम्पले औपचारिक रूपमा सत्ता सम्हालेसँगै टिकटकमाथिको प्रतिबन्ध फुकुवा हुनेमा उक्त कम्पनी विश्वस्त छ ।