close

सरकारी कम्प्युटरमा थर्डपार्टी भीपीएन प्रयोग गर्न र गेम खेल्न नपाइने

टेकपाना टेकपाना

माघ १४, २०८१ १०:३४

सरकारी कम्प्युटरमा थर्डपार्टी भीपीएन प्रयोग गर्न र गेम खेल्न नपाइने

काठमाडौं । सरकारी कर्मचारीले कार्यालयको कम्प्युटरमा थर्ड पार्टी भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्न नपाउने भएका छन् । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले हालै जारी गरेको एड्भाइजरीमा यस्तो व्यवस्था गरिएको हो । 

एड्भाइजरीमा इन्टरनेट ब्राउज गर्दा के कस्ता विषयमा ध्यान दिने भन्ने सुझाव समेत दिइएका छन् । सोही अन्तर्गत केन्द्रले एनोनिमस थर्ड पार्टी सर्भिस जस्तै नोर्ड भीपीएन, एक्सप्रेस भीपीएन, टोर, प्रोक्सी आदिको प्रयोग नगर्न निर्देशन दिइएको छ । 

त्यस्तै सरकारी एप्लिकेसन/सेवा, ईमेल सेवा, बैंकिङ तथा भुक्तानी सम्बन्धित सेवा वा कुनै महत्त्वपूर्ण सेवा तथा एप्लिकेसन पहुँच गर्दा सधैं प्राइभेट ब्राउजिङ वा इन्कग्निटो मोड प्रयोग गर्न सरकारी सूचना प्रविधि प्रणाली प्रयोगकर्तालाई सचेत बनाइएको छ ।

त्यसैगरी युजर लगइन आवश्यक पर्ने साइटमा पहुँच लिंदा लिङ्कमा क्लिक नगरी ब्राउजरको एड्रेस बारमा रहेको साइटको डोमेन नेम/यूआरएल म्यानुअल्ली टाइप गर्न भनिएको छ ।

इन्टरनेट ब्राउजरको नयाँ भर्सन प्रयोग गर्न र त्यसलाई नियमित रूपमा अपडेट गर्न पनि सुझाइएको छ । त्यसैगरी ब्राउजरबाट डेटा चोरी हुने जोखिम भएकाले ‍ब्राउजरमा कुनै पनि युजरनेम र पासवर्ड सेभ नगर्न भनिएको छ ।

थर्ड पार्टी टुल्स तथा ग्याजेट्स जस्तै डाउनलोड म्यानेजर, वेदर टुलबार, आस्कमी टुलबार आदिको प्रयोग नगर्न सरकारी निर्देशन छ । त्यसैगरी अनधिकृत वा पाइरेटेड सामग्री जस्तैः पाइरेटेड फिल्म, गीत, ई-बुक्स, सफ्टवेयर आदि डाउनलोड नगर्न भनिएको छ ।

कार्यालयका कम्प्युटर/ल्यापटपमा कुनै पनि गेम इन्स्टल गर्न वा खेल्ने प्रयास समेत नगर्न भनिएको छ । सङ्‌क्षिप्त यूआरएल जस्तै ‘tinyurl.com/ab534’ ब्राउज गर्दा फिशिङ र मालवेयर साइटमा पुग्ने भएकाले सावधानी अपनाउन सुझाइएको छ ।

पछिल्लो अध्यावधिक: माघ १४, २०८१ १०:३४