काठमाडौं । भारतको ओडिशास्थित भुवनेश्वर-कटक प्रहरी आयुक्तालयले अलपत्र परेका नेपाली विद्यार्थीका लागि हटलाइन नम्बर सार्वजनिक गरेको छ । आयुक्तालयले ‘८२८०३३८३०१’ नम्बरको हटलाइनमार्फत विद्यार्थीहरूले कुनै पनि समस्या परेमा चौबिसै घण्टा सम्पर्क गर्न सक्ने जनाएको छ ।
हालै केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालले आत्महत्या गरेपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको छ ।
आइतबार लम्सालले आत्महत्या गरेको घटना बाहिर आएपछि उनका दाइ नाता पर्ने सिद्धान्त सिग्देलले तत्कालै चौकीमा उजुरी दिएका थिए । सिद्धान्त केआईआईटीमा बीटेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत छन् । प्रकृति पनि सोही विश्वविद्यालयमा कम्प्युटर विज्ञानमा तेस्रो वर्षमा अध्ययन गरिरहेकी थिइन् ।
सिद्धान्तले प्रहरीलाई दिएको जानकारी अनुसार सोही विश्वविद्यालयका बीटेक (मेकानिकल) का विद्यार्थी २१ वर्षीय अद्विक श्रीवास्तवले प्रकृतिलाई दुर्व्यवहार गरेका थिए । यसैकारण प्रकृतिले आत्महत्या गरेको सिद्धान्तको आरोप छ ।
उक्त उजुरीका आधारमा इन्फोसिटी प्रहरी चौकीमा अद्विक श्रीवास्तव विरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा उजुरी दर्ता भएको थियो । त्यसको भोलिपल्ट सोमवार श्रीवास्तवलाई प्रहरीले पक्राउ गरी न्यायिक हिरासतमा पठाएको थियो ।
विज्ञप्ति अनुसार प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ र प्रमाणको रूपमा कागजात र विद्युतीय उपकरण जफत गरेको छ । यसैबीच केआईआईटी विश्वविद्यालय प्रशासनले १७ फेब्रुअरीको बिहान अनिश्चितकालका लागि विश्वविद्यालय बन्दको घोषणा गरेको थियो । साथै नेपाली विद्यार्थीलाई छात्रावास खाली गर्न निर्देशन दिएको थियो ।
विश्वविद्यालयले नेपाली विद्यार्थीको भेला र आन्दोलनलाई अनुशासनहीन कार्य भन्दै छात्रावास छोड्न निर्देशन दिएको थियो । तर, १७ फेब्रुअरीको साँझ केआईआईटी प्रशासनले अनिश्चितकालका लागि विश्वविद्यालय बन्द गर्ने निर्णय फिर्ता लियो र नेपाली विद्यार्थीलाई आ-आफ्नो छात्रावासमा फर्कन आग्रह गर्यो ।
यति मात्र नभई केआईआईटीका सुरक्षाकर्मीहरूले नेपाली विद्यार्थीहरूलाई दुर्व्यवहार गरेको आरोपमा इन्फोसिटी प्रहरी चौकीमा उजुरी परेको थियो । उक्त घटनामा संलग्न सुरक्षा गार्ड रामकान्त नायक र जोगेन्द्र बेहरालाई प्रहरीले पक्राउ गरेको छ ।