काठमाडौं । टेस्ला, स्पेसएक्स र एक्स (पूर्व ट्वीटर)का मालिक एलन मस्क सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी दैनिकजसो सयौं पोस्ट गर्छन्, जसले बजार हल्लाउने, बहस सिर्जना गर्ने र ट्रेन्ड समेत सेट गर्ने गर्छ ।
डेटा एनालिटिक्स प्लेटफर्म सोसल ब्लेडका अनुसार मस्कले २०२४ मा मात्र एक्समा २९ हजार १७२ पटक पोस्ट गरेका छन् । विशेषगरी उनले जुलाईमा डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेयता पोस्ट गर्ने दर तीव्र रूपमा बढेको देखिन्छ । त्यसयता उनले १८,३३५ पोस्ट गरेका छन् ।
मे २०२४ मा उनले हप्तामा औसत ३३२ पोस्ट गरेका थिए । जुनमा यो सङ्ख्या २७० मा झर्यो । तर, जुलाईदेखि पुन: पोस्ट गर्ने दर बढ्दै गयो । अगस्टमा हप्तामा ४३७, सेप्टेम्बरमा ५८० र नोभेम्बरमा राष्ट्रपतिको चुनावको समयमा हप्तामै ९७७ पोस्ट गरेका थिए । नोभेम्बरको एक हप्तामा मात्रै उनले औसत १५४ पोस्ट गरेका थिए ।
हाल मस्कको ‘एक्स’ मा २१८.५ मिलियन फलोअर्स छन्, जुन एक्समा रहेका कुनै पनि व्यक्तिको भन्दा बढी हो । पहिले मस्क रमाइला पोस्ट, मिम र विचित्र विचारहरू शेयर गर्थे । तर, पछिल्लो समय उनका पोस्टहरू गम्भीर राजनीतिक र व्यावसायिक असर पार्ने खालका हुन थालेका छन् । कतिपय पोस्ट विवादास्पदसमेत बन्ने गरेका छन् ।