काठमाडौं । आजकल एआई च्याटबटको लोकप्रियता बढ्दो छ । मानिसहरू आफ्ना दैनिक काममा यसको सहायता लिइरहेका छन् । विशेषगरी खोज, अनुसन्धान, पेशागत र शैक्षिक प्रयोजनमा च्याटबटको व्यापक प्रयोग भइरहेको हुन्छ ।
एआईको लोकप्रियतासँगै प्रयोगकर्ताले यसलाई नयाँ तरिकाले प्रयोग गर्न थालेका छन् । विशेषगरी पुराना कुराकानीहरूका आधारमा आफ्नो व्यक्तित्व पहिचान गर्न, रुचि पत्ता लगाउन, अनलाइन बानी जान्न वा अन्य जानकारी प्राप्त गर्न च्याटबट प्रयोग भइरहेको छ । हालै नेपाली टेक कम्युनिटीमा च्याटजीपीटीलाई प्रम्प्ट दिएर आफ्नो व्यङ्ग्य (Roast) सिर्जना गर्न लगाउने प्रवृत्ति देखिएको छ ।
प्रयोगकर्ताले आफ्ना पुराना कुराकानीको आधारमा च्याटजीपीटीलाई रोस्ट गर्न भन्छन् । त्यसपछि च्याटजीपीटीले पुरानो कुराकानीको आधारमा प्रयोगकर्ताको सबै पक्ष विश्लेषण गर्छ र रोस्ट हान्छ । यसलाई नेपाली प्रयोगकर्ताले रमाइलो तरिकाले लिइरहेका छन् ।
फेसबुक ग्रुप ‘आईटी स्टुडेन्ट्स अफ नेपाल’मा यस विषयमा पोस्ट आइरहेका छन् । प्रयोगकर्ताले च्याटजीपीटीले आफूलाई कसरी रोस्ट गर्यो भन्ने दर्साउन स्क्रिनशट शेयर गरिरहेका छन् । केहीले भने व्यङ्ग्यात्मक रूपमा ‘यो प्रक्रिया नदोहोर्याउन’ चेतावनी दिएका छन् ।
च्याटजीपीटीलाई रोस्ट गर् भन्नका लागि तपाईंले यो, “Based on my chat history, Roast me in Nepali” प्रम्प्ट प्रयोग गर्न सक्नुहुन्छ । त्यसपछि च्याटजीपीटीले तपाईंलाई चित्तबुझ्दो जवाफ फर्काउने प्रयास गर्नेछ । गुगलको च्याटबट जेमिनाई भने यस प्रम्प्टको जवाफ दिंदैन । त्यसबाहेक तपाईंले बढी प्रयोग गर्ने च्याटबटलाई यो प्रम्प्ट दिएर 'रोस्ट'का अनुरोध गर्न सक्नुहुन्छ ।