काठमाडौं । नेपाली विद्यार्थीहरूमाथि दुर्व्यवहार गर्ने कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का शिक्षक तथा कर्मचारीहरूलाई स्थायी रूपमा नै बर्खास्त गर्न परराष्ट्रमन्त्री आर्जु राणा देउवाले माग गरेकी छिन् । ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीसँग टेलिफोन कुराकानी गर्दै उनले यस्तो माग अघि सारेकी हुन् ।
नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरूलाई अस्थायी नभएर स्थायी रूपमा नै हटाउन ओडिशा सरकारले नै पहल गरी दिन उनले आग्रह गरेकी छिन् । सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै मन्त्री राणाले केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रम बारे आफूले त्यहाँका मुख्यमन्त्रीसँग कुराकानी गरेको जानकारी दिएकी हुन् ।
"मैले उहाँसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी छु," उनले भनेकी छिन् । यस विषयमा कलेजको पनि समिति बनेको र त्यहाँ नेपाली राजदूतावास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी खटिएको उल्लेख गर्दै उनले ती कर्मचारीसँग समन्वयका लागि पनि आफूले मुख्यमन्त्री माझीसँग आग्रह गरेको बताएकी छिन् ।
जवाफमा मुख्यमन्त्रीले यस घटनालाई ओडिशा राज्यले नै गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेर काम सुरु गरिएको जानकारी दिएको उनले उल्लेख गरेकी छिन् ।
"साथै उहाँले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूलाई सुरक्षित रूपमा पठनपाठनको व्यवस्थाका लागि ओडिशा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिनु भयो," उनले अगाडि लेखेकी छिन् । यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले ओडिशा सरकार, विश्वविद्यालय र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको छ ।
भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आज मैले ओडिसाका मुख्यमन्त्री श्री मोहन चरण माझीसँग फोनमा कुराकानी गरेँ । उहाँसँग मैले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँ… pic.twitter.com/At4DEjYEQd