काठमाडौं । फेसबुकमा दिदी-बहिनीलाई बलात्कारको धम्की आएपछि कमेडियन सजन श्रेष्ठले साइबर ब्युरोमा उजुरी दिएका छन् । श्रेष्ठले आइतबार फेसबुकमा पोस्ट राख्दै रिदय ताम्राकार नामको फेसबुक अकाउन्ट विरुद्ध उजुरी दिएको जानकारी दिएका हुन् ।
“आज मेरो परिवारलाई बलात्कारको धम्की दिने मानिसलाई मैले साइबर ब्युरोमा मुद्दा दर्ता गरेको छु । यो मानिस जहाँ गए पनि कानुनको दायरामा ल्याउने छु,” श्रेष्ठले उजुरीको फोटो राख्दै फेसबुकमा लेखेका छन् ।
उनले यसअघि शनिबार एक भिडिओमार्फत विभिन्न किसिमको धम्की आइरहेको बताएका थिए । सुशान्त प्रधानको पोडकास्ट श्रेष्ठले कुमा सागरको लवजमा उनकै गीत गएका थिए । त्यही बीचमा निस्केको एक शब्दलाई लिएर आफूलाई अभियन्ता दाबी गर्ने केही व्यक्तिले उक्त क्लिपलाई लिएर विवाद सिर्जना गरे ।
विवाद अत्यधिक बढ्ने देखिएपछि कमेडियन श्रेष्ठले भिडिओ पोस्ट गर्दै भुलवश गल्ती भएको भन्दै माफी मागेका थिए । त्यही भिडिओमा कमेन्ट गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ता श्रेष्ठ र उनको परिवार तथा अफन्तमाथि खनिएका थिए । उनको सो पोस्ट हेर्दा अधिकांश प्रतिक्रियामा कुनै न कुनै रूपमा गाली गरिरहेको जस्तो देखिन्छ । त्यसमध्ये दिदी बहिनीलाई बलात्कारको धम्की दिने विरुद्ध उनले उजुरी दिएका हुन् ।
श्रेष्ठका अनुसार उनले गायक कुमा सागरलाई पनि सम्पर्क गरेर माफी मागेका थिए । खास विवाद कुमा सागरसँग भए पनि यसलाई नेवाः समुदायमाथि जोडिएको थियो । नेवाः समुदायका विभिन्न कलाकार तथा कन्टेन्ट क्रियटरले यसको चर्को आलोचना गरिरहेका छन् ।
आफूलाई अभियन्ता दाबी गर्ने समूहले श्रेष्ठ सहित कमेडियन उत्सव सापकोटा, सुजन जिम्बा र पोडकास्टर सुशान्त प्रधान विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा निवेदन दिएका थिए ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार यस घटनामा अनुसन्धान भइरहेको छ । यसअघि नेवारी समुदायलाई व्यङ्ग्य गरेको आरोपमा झण्डै दुई वर्षअघि पक्राउ परेका कमेडियन अपूर्वक्षितिज सिंहले निरन्तर सजन श्रेष्ठको पक्षमा आवाज उठाइरहेका छन् । आफूलाई नेवाः अभियन्ता दाबी गर्ने व्यक्तिले एटेन्सन पाउन कमेडियन विरुद्ध विभिन्न अफवाह फैलाउने गरेको सिंहको आरोप छ ।