काठमाडौं । नेपाल टेलिकमले डिजिटल कारोबार गर्दा सार्वजनिक वाईफाई प्रयोग गर्नु भन्दा मोबाइल डेटा सुरक्षित हुने जनाएको छ । कम्पनीले एक सन्देश जारी गर्दै डिजिटल वालेट तथा एप मार्फत रकम पठाउन, प्राप्त गर्न वा डिजिटल भुक्तानी गर्न सार्वजनिक वाईफाई असुरक्षित हुने भएकाले मोबाइल डेटा प्रयोग गर्न सुझाएको हो ।
नेपाल टेलिकमका अनुसार सार्वजनिक वाईफाईमा सुरक्षा जोखिम उच्च हुने भएकाले डिजिटल कारोबार गर्दा मोबाइल डेटा प्रयोग गर्नु सुरक्षित हुन्छ । कम्पनीले ग्राहकहरुलाई सुलभ दरमा डेटा प्याकेजहरु उपलब्ध गराएको जानकारी समेत दिएको छ । यी डेटा प्याकेजहरू मोबाइलबाट *१४१५# डायल गरेर वा नेपाल टेलिकमको आधिकारिक एपबाट खरिद गर्न सकिन्छ ।
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई डिजिटल कारोबारमा सुरक्षित रहन र मोबाइल डेटाको प्रयोग गर्न अनुरोध गरेको छ ।