काठमाडौं । अब स्थायी लेखा नम्बर (प्यान) नलिएका साना व्यापारीहरूले पनि मर्चेन्ट क्यूआर कोड पाउने भएका छन् । नियामक नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो ।
संशोधित व्यवस्थाअनुसार दैनिक पाँच हजार रुपैयाँसम्मको कारोबार गर्ने प्राकृतिक व्यक्तिहरूले आफ्नो आधिकारिक परिचयपत्रको आधारमा मर्चेन्ट क्युआर कोड प्राप्त गर्न सक्नेछन् । यसअघि, यस्तो सुविधा स्थायी लेखा नम्बर लिएका व्यवसायीहरूका लागि मात्र सीमित थियो ।
उक्त व्यवस्थाअनुसार प्यान लिएका एकल स्वामित्वमा सञ्चालित व्यवसायीहरूको नाममा मात्र मर्चेन्ट क्युआर उपलब्ध गराउन सकिन्थ्यो । प्यान नलिएका साना खुद्रा व्यापारीहरूलाई पनि डिजिटल कारोबारमा सहभागी गराउने उद्देश्यले राष्ट्र बैंकले मर्चेन्ट क्यूआर उपलब्ध गराउने व्यवस्था गरेको हो ।
“स्थायी लेखा नम्बर (प्यान) नलिएका दैनिक रु.५ हजारसम्मको कारोबार गर्ने प्राकृतिक व्यक्तिको हकमा आधिकारिक परिचयपत्रको आधारमा समेत निजको नाममा मर्चेन्ट QR Code उपलब्ध गराउन सकिनेछ,” संशोधित व्यवस्थामा भनिएको छ ।