काठमाडौं । नेपालमा पछिल्लो सात महिनामा साढे २९ लाख बढी फोरजी ग्राहक थपिएका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार गत साउनदेखि माघ मसान्तसम्म फोरजी ग्राहक सङ्ख्या २९ लाख ६४ हजार ६२५ पुगेको हो ।
असार २०८१ सम्ममा दुई करोड २२ लाख फोरजी ग्राहक थिए भने माघ २०८१ सम्ममा यो संख्या बढेर दुई करोड ५१ लाख पुगेको छ, जुन कुल जनसंख्याको ८६.४० प्रतिशत हुन आउँछ ।
यसबीचमा दूरसञ्चार बजारमा नेपाल टेलिकमको हिस्सा खुम्चिएको छ । सिम सब्सक्रिप्सनको आधारमा हाल टेलिकमको बजार हिस्सा ५४.२० प्रतिशत रहेको छ भने एनसेलको ४५.८० प्रतिशत हिस्सा छ । यसअघि गत असारमा नेपाल टेलिकमको बजार हिस्सा ६३.५५ प्रतिशत रहँदा एनसेलको हिस्सा ३६.४५ प्रतिशत रहेको थियो ।
यता, फिक्स्ड ब्रोडब्यान्डमा फाइबर टु द होम (एफटीटीएच)को बजार बढ्दो छ । माघ मसान्तसम्म नेपालमा फाइबर इन्टरनेट सेवामा ३० लाख २९ हजार ४२६ ग्राहक (१०.३९ प्रतिशत) जोडिएका छन् । सात महिनाको अवधिमा फाइबर इन्टरनेटमा दुई लाख २४ हजार बढी ग्राहक थपिएका छन् ।
एफटीटीएच बजारमा ३१.७८ प्रतिशत हिस्सासहित वर्ल्डलिङ्क कम्युनिकेसन्स अग्रस्थानमा छ । दोस्रो स्थानमा नेपाल टेलिकम छ । माघ मसान्तसम्मको तथ्याङ्क अनुसार कुल एफटीटीएच ग्राहकमध्ये ११.४३ प्रतिशत टेलिकमको छ । टेलिकमलाई डिश मिडिया नेटवर्क (डिशहोम) ले पछ्याइरहेको छ । अन्य प्रमुख इन्टरनेट सेवा प्रदायकहरूमा सुबिसु केबलनेट, भायानेट कम्युनिकेसन्स, क्लासिकटेक, वेबसर्फर लगायत छन् ।