काठमाडौं । एप्पलको नयाँ स्मार्टफोन आईफोन १६ई मा ब्लुटुथ अडिओ प्रयोग गर्दा समस्या आएको छ । प्रयोगकर्ताले ब्लुटुथमार्फत अडिओ सुन्दा आवाज रोकिने वा अवरुद्ध हुने गरेको गुनासो गर्न थालेका छन् ।
यो समस्या विशेषगरी एकैसाथ दुई वा दुईभन्दा बढी ब्लुटुथ डिभाइस कनेक्ट गर्दा देखिएको छ ।
एप्पलसम्बन्धी जानकारी दिने अनलाइन प्लेटफर्म म्याकर्युमर्सका अनुसार एप्पलको सपोर्ट कम्युनिटी, रेडिट र एक्समा प्रयोगकर्ताले यस विषयमा थुप्रै गुनासो गरेका छन् । उनीहरूका अनुसार ब्लुटुथमार्फत अडिओ सुन्दा आवाज बारम्बार रोकिने वा काटिने गरेको छ ।
यो समस्या फोनलाई दुई वा सोभन्दा बढी ब्लुटुथ डिभाइससँग कनेक्ट गरिसकेपछि ती दुईमध्ये कुनैले एकैपटक सञ्चार गर्न खोज्दा हुने गरेको देखिएको छ ।
कतिपय प्रयोगकर्ताले एप्पलका स्मार्टवाच र एयरपड्स प्रो टु जस्ता डिभाइस प्रयोग गर्दा यो समस्या नभएको बताएका छन् । तर, एप्पलबाहेक अन्य कम्पनीका स्मार्टवाच र फिटनेस ट्र्याकर प्रयोग गर्नेहरूले भने ब्लुटुथ इयरबड्ससँगै जोड्दा अडिओमा समस्या आएको अनुभव गरेका छन् ।
यो समस्या एप्पलको नयाँ सी वन मोडेम, आईफोन १६ ईको हार्डवेयर वा आईओएस १८.३.एक्स सफ्टवेयर मध्ये कुन कारणले हो भन्ने स्पष्ट छैन । एप्पलले औपचारिक रूपमा यो समस्याबारे कुनै जानकारी दिएको छैन ।