काठमाडौं । नेपालले अमेरिकामा आफ्नो सूचना प्रविधि (आईटी) सेवाहरूको प्रदर्शन गर्ने भएको छ । ‘टेक पिक नेपाल: ओर्लान्डो २०२५’ नामको कार्यक्रममार्फत आईटीमा आधारित सेवा प्रदर्शन गर्न लागिएको हो ।
फ्लोरिडाको ओर्लान्डोमा आगामी मार्च २४–२७ सम्म हुने यस कार्यक्रम नेपाल उद्योग परिसंघ (सीएनआई) र अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को संयुक्त आयोजनामा हुँदैछ ।
सीएनआईले दिएको जानकारी अनुसार कार्यक्रममा विश्वभरका आईटी क्षेत्रका ठुला कम्पनीहरू सहभागी हुनेछन् । यसले नेपालको बढ्दो आईटी आउटसोर्सिङ उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने र विदेशी लगानीकर्तालाई आकर्षित गर्ने विश्वास लिइएको छ ।
नेपालको आईटी सेवा निर्यात बढेको सन्दर्भमा अमेरिकामा यस्तो कार्यक्रम हुन हुन लागेको हो । सन् २०२२ मा नेपालले ५१ करोड १५ लाख ४० हजार अमेरिकी डलर बराबरको आईटी सेवा निर्यात गरेको थियो, जुन २०२१ को तुलनामा ६४.२ प्रतिशत बढी हो ।
नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा आईटी क्षेत्रको योगदान १.४ प्रतिशत र विदेशी मुद्रा सञ्चितिमा ५.५ प्रतिशत रहेको छ । सरकारले सन् २०२४-२०३४ लाई सूचना प्रविधि दशक घोषणा गरेको छ । यसअन्तर्गत १० वर्षभित्र ३० खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्ने र १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।
यस कार्यक्रममा नेपालका आईटी कम्पनीहरूले आईबीएम, इन्फोसिस र पीडब्लूसी जस्ता विश्वका ठूला कम्पनीहरूसँगै आफ्नो क्षमता देखाउने अवसर पाउनेछन् । सीएनआईका अनुसार यस कार्यक्रमले नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय लगानीकर्ता, ग्राहक र साझेदारहरूसँग जोड्नेछ ।