close

आईआईएमएस कलेजका विद्यार्थीले बनाए यात्रामा सघाउनेदेखि साइकलको राइड शेयरिङसम्मका एप

टेकपाना टेकपाना

चैत ६, २०८१ १९:१

आईआईएमएस कलेजका विद्यार्थीले बनाए यात्रामा सघाउनेदेखि साइकलको राइड शेयरिङसम्मका एप

काठमाडौं । द इन्स्टिच्युट अफ इन्टरनेसनल म्यानेजमेन्ट साइन्स-आईआईएमएस कलेजका विद्यार्थीहरूले विभिन्न उपयोगी एपहरू तयार पारेका छन् । कलेजले हालै आयोजना गरेको आईआईएमएस प्रोजेक्ट शोकेसका क्रममा विद्यार्थीहरूले यात्रामा सघाउनेदेखि साइकलको राइड शेयरिङ गर्न मिल्नेसम्मका एप प्रस्तुत गरेका हुन् ।

कलेजमा ब्याचलर अफ कम्प्युटर साइन्सका विद्यार्थीको प्राविधिक दक्षता मूल्याङ्कन तथा अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो । जसमा 'हाम्रो गन्तव्य' नामक एपले बेस्ट पोस्टर प्रोजेक्ट शोकेस अवार्ड हात पार्न सफल भयो । यात्रा मार्ग, यातायातको माध्यम (निजी वा सार्वजनिक), समय, र लागत विश्लेषण गरी यसले यात्रुलाई उत्तम विकल्प प्रदान गर्ने बताइएको छ ।

त्यस्तै 'सरर-सजिलो र रमाइलो राइडिङ' एपले आउटस्ट्यान्डिङ क्रिटिकल थिङ्किङ अवार्ड प्राप्त गरेको छ । जुन वातावरणमैत्री यातायातको समाधानको रूपमा साइकलको राइड शेयरिङका लागि बनाइएको हो ।

यसैगरी डिस्क्रिट इमर्जेन्सी अलर्ट सिस्टमले बेस्ट क्याप्स्टोन अवार्ड पायो । यो भने जोखिममा परेका व्यक्तिहरूले सहायता माग्नका लागि प्रयोग गर्न मिल्ने आईओटी युक्त गोप्य आपतकालीन अलर्ट सिस्टम हो ।

जलसेवा वाटर ट्रान्सपोर्टेसन एप बेस्ट इनोभेटिभ अवार्ड बिजेता बन्यो । यो एप पानीको स्रोतदेखि उपभोक्तासम्म सहज आपूर्ति तथा डेलिभरी सुनिश्चित गर्ने सोलुसनका लागि डिजाइन गरिएको हो ।

शोकेसमा विद्यार्थीहरूलाई क्यापस्टोन प्रोजेक्ट, हबी प्रोजेक्ट र रिसर्च इनिसियटिभ्स गरी तीन फरक विधामा आफ्ना परियोजना प्रस्तुत गर्न लगाइएको थियो । प्रतिस्पर्धी प्रोजेक्ट मूल्याङ्कन गर्न अनुभवी विज्ञहरूलाई निर्णायकको रूपमा राखिएको थियो । जसमा ईके सोलुसन्सका टिम लिडर जीतेन्द्र महर्जन, लिपफ्रगका ट्यालेन्ट एक्विजिसन म्यानेजर किरण रेग्मी र नामी अनुसन्धान केन्द्रका अनुसन्धान सहायक जतिन भुसाल रहेका थिए ।

कार्यक्रम पोस्टर शोकेसमा विद्यार्थीहरूले आफ्ना परियोजनाहरू विस्तृत रूपमा प्रस्तुत गरेका थिए । त्यसपछि लाइभ डेमो र प्रिजेन्टेसनको चरणमा निर्णायकहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गरेका थिए । अन्त्यमा विभिन्न विधामा उत्कृष्ट परियोजनाहरूलाई अवार्ड प्रदान गरिएको हो ।

सन् २०१० मा स्थापित आईआईएमएस कलेजले स्नातक तहमा तीन ओटा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । जसमा ब्याचलर अफ कम्प्युटर साइन्स, ब्याचलर अफ इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट र ब्याचलर अफ बिजनेस रहेका छन् । 

 

पछिल्लो अध्यावधिक: चैत ६, २०८१ १९:७