काठमाडौं । आमसर्वसाधारणका गुनासो सुन्ने सरकारी प्लेटफर्म ‘हेलो सरकार’को वेबसाइट ह्याक भएपछि सामाजिक सञ्जालका अकाउन्ट बेवारिस बनेका छन् । वेबसाइट नै ह्याक भएपछि दिनहुँजसो गुनासोबारे जानकारी दिने हेलो सरकारका ह्यान्डल १२ चैतपछि निष्क्रिय छन् ।
हेलो सरकारको फेसबुक पेज र एक्स ह्यान्डल बढी सक्रिय थिए । १२ चैत (२५ मार्च) सम्म ती अकाउन्टमा निरन्तर पोस्ट आइरहेका थिए । खासगरी वेबपोर्टलमा दर्ता भएका गुनासो, विभिन्न निकायमा सम्बोधनका लागि पठाइएका गुनासोको सङ्ख्या र फर्स्यौट भएका गुनासोको सङ्ख्या सामाजिक सञ्जालमा राखिन्थ्यो । गुनासो दर्ता गर्ने मुख्य वेबसाइट नै सञ्चालनमा नआएपछि सामाजिक सञ्जालका ह्यान्डल निष्क्रिय भएका हुन् ।
हेलो सरकारको वेबसाइट २८ फागुनदेखि नै बन्द छ । त्यही दिन एक्समा पोस्ट राख्दै हेलो सरकारले वेबसाइटमा प्राविधिक समस्या आएको जनाएको थियो । तर, कस्तो प्राविधिक समस्या भन्नेबारे केही खुलाएको थिएन ।