काठमाडौँ । पाँच वर्ष पहिले प्रेमीलाई पठाएको गोप्य भिडिओको दुरुपयोग गर्दै युवतीलाई धम्क्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको वडा नम्बर ४ शान्तपूर्वका २४ वर्षीय आयुष अधिकारी रहेका छन् ।
साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार आरोपी अधिकारीले युवतीलाई भिडिओ भाइरल बनाइदिने धम्की दिँदै पैसा माग्ने र शारीरिक सम्बन्ध राख्न दबाब दिने गरेको पाइएको छ ।
प्रहरीले अधिकारीलाई काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद लिई थप अनुसन्धान गरिरहेको छ ।
युवती पाँच वर्षअघि सामाजिक सञ्जालमार्फत चिनजान भएका एक युवकसँग प्रेम सम्बन्धमा थिइन् । सोही समयमा उनले आफ्नो प्रेमीलाई आफ्नो गोप्य भिडिओ पठाएकी थिइन् ।
प्रहरी निरीक्षक अवस्थीका अनुसार आयुष अधिकारीले उक्त भिडिओ कसरी प्राप्त गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ । बयानका क्रममा युवतीको पूर्वप्रेमीको संलग्नता देखिएमा उनलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाइने उनले बताए ।