काठमाडौँ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले पेमेन्ट कार्ड इन्डस्ट्री–डेटा सेक्युरिटी स्ट्यान्डर्ड (पीसीआई–डीएसएस) भी.४.०.१ प्रमाणीकरण प्राप्त गरेको छ । कम्पनीले हालसालै सो सर्टिफिकेसन प्राप्त गरेको हो ।
उक्त सर्टिफिकेट हालसम्मको सर्वाधिक सुरक्षित र अद्यावधिक संस्करण मानिने कम्पनीको दाबी छ । पीसीआई डीएसएस एक अन्तर्राष्ट्रिय स्तरको सुरक्षात्मक मापदण्ड हो, जुन भुक्तानी कार्ड सम्बन्धी डेटा सुरक्षा सुनिश्चित गर्नका लागि तयार पारिएको हो ।
यस मापदण्ड अन्तर्गत विभिन्न १२ प्रकारका सुरक्षा आवश्यकता र प्रक्रियाहरू निर्धारण गरिन्छ । जसले डेटा चोरी, अनधिकृत पहुँच तथा साइबर आक्रमणबाट बच्न सहयोग पुर्याउँछ ।
कुनै पनि भुक्तानी सेवा प्रदायक संस्थाको लागि यस्तो प्रमाणीकरण प्राप्त गर्नु एक महत्वपूर्ण उपलब्धि हो । किनभने यसले कम्पनीको प्रणाली, नेटवर्क तथा डेटा संरचनाहरू उच्चस्तरको सुरक्षा मापदण्ड अनुरूप सञ्चालन भइरहेको कुरा सुनिश्चित गर्दछ ।
एससीटी जस्तो संस्थाले यस्तो प्रमाणीकरण प्राप्त गर्नु ग्राहकहरूको विश्वास जित्न, डिजिटल भुक्तानी सेवामा पारदर्शिता ल्याउन तथा साइबर जोखिमहरू न्यूनीकरण गर्न अत्यन्त प्रभावकारी हुने अपेक्षा गरिएको छ । यो मापदण्ड पालना गर्नुले एससीटीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित डिजिटल भुक्तानी पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्न सक्षम बनाउनेछ । जसले कम्पनीको दीर्घकालीन विकास र विश्वसनीयता महत्वपूर्ण अर्थ राख्नेछ ।
नेपाल राष्ट्र बैँकको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन बमोजिम कार्डमार्फत भुक्तानी कारोबार गर्न अनुमतिपत्र प्राप्त संस्थाले कारोबार तथा कार्डसँग सम्बन्धित संवेदनशील सूचनाको प्रत्याभूति गर्न कार्डको प्रकृति अनुसार पीसीआई–डीएसएस जस्ता अन्तरराष्ट्रिय रूपमा प्रचलित मापदण्डहरू पालना गर्नुपर्ने हुन्छ । सोही अनुरूप एससीटीले यो प्रमाणीकरण प्राप्त गरेको हो ।