close

भारतका पूर्वडीजीपी हत्या प्रकरणः आफ्नै श्रीमती पक्राउ, गुगलमा खोजेकी थिइन् हत्या गर्ने उपाय

टेकपाना टेकपाना

बैशाख ९, २०८२ १३:३८

भारतका पूर्वडीजीपी हत्या प्रकरणः आफ्नै श्रीमती पक्राउ, गुगलमा खोजेकी थिइन् हत्या गर्ने उपाय

काठमाडौं । भारत कर्नाटकका अवकाशप्राप्त पूर्व डीजीपी ओम प्रकाशको हत्या गरेको आरोपमा उनकी श्रीमती पक्राउ परेकी छन् । प्रहरीले ओम प्रकाशकी श्रीमती ६४ वर्षीया पल्लवीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार हत्या आरोपी पल्लवीले ओम प्रकाशको हत्या हुनु केही दिनअघि गुगलमा मान्छे मार्ने तरिका सर्च गरेकी थिइन् । गुगलमा ‘घाँटी नजिकको नसा र रगत बग्ने नली काट्दा मानिस कसरी मर्छ’ भनेर पल्लवीले सर्च गरेको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम इन्डिया टुडेले उल्लेख गरेको छ ।

आइतबार बेलुका पूर्व डीजीपी ओम प्रकाश बैङ्गलोरको आफ्नै तीनतले घरको भुईँतलामा मृत फेला परेका थिए । उनको छाती, पेट र हातमा धारिलो हतियार प्रहार भएको फेला परेको थियो । घटना हुने क्रममा पल्लवीले पूर्व डीजीपीको आँखामा खुर्सानीको धुलो फालेकी र त्यसपछि धारिलो हतियार अन्धाधुन्ध प्रहार गरेको आरोप लगाइएको छ ।

त्यस्तै हत्या आरोपी पल्लवीले घटनापछि आफ्नो साथीलाई भिडिओ कल गर्दै ‘मैले राक्षसलाई मारेँ’ भनेकी थिइन् । त्यही भिडिओ कल पनि प्रमाणका रूपमा लिइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा पल्लवीसँगै उनकी ३७ वर्षीया छोरी कृतिलाई पनि नियन्त्रणमा लिएको थियो । अहिले उनी रिहा भइसकेकी छन् ।

प्रहरीलाई बयान दिने क्रममा पल्लवीले आफू घरेलु हिंसाको शिकार भएको दाबी गरेकी छिन् । यस घटनामा कृतिको कुनै भूमिका नभएको र उनी ‘डिप्रेसन’ मा रहेकाले उनलाई रिहा गर्न पल्लवीले बारम्बार प्रहरीलाई आग्रह गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८२ १४:३