काठमाडौँ । चर्चित मेसेजिङ एप ह्वाट्सएपले वेब संस्करणमार्फत पनि भ्वाइस र भिडिओ कलिङको सुविधा दिने संकेत गरेको छ । ह्वाट्सएपको अपडेटबारे जानकारी दिने डब्लूएबेटा इन्फोका अनुसार ह्वाट्सएपको वेब संस्करणमा अब कल गर्ने आइकनहरू देखिन थालेका छन् । यसले वेब ब्राउजरमै बसेर सिधै कल गर्न मिल्ने सम्भावना देखिएको छ ।
हालसम्म ह्वाट्सएप प्रयोगकर्ताले मोबाइल एप वा डेस्कटपका लागि छुट्टै एप डाउनलोड गरेर मात्र भ्वाइस वा भिडिओ कल गर्न पाउँछन् । अघिल्लो महिनाको अपडेटमा ह्वाट्सएपले प्राइभेट र ग्रुप च्याटमा भ्वाइस र भिडिओ कल सुरु गर्ने तरिका परिवर्तन गर्दै नयाँ ‘कल ड्रपडाउन’ मेनु थपेको थियो ।
अब भने वेब संस्करणमै फोन र क्यामेरा आइकन देखिन थालेपछि ह्वाट्सएपले यो सुविधा थप व्यापक रूपमा ल्याउन लागिरहेको अनुमान गरिएको छ । यो सुविधा आधिकारिक रूपमा सार्वजनिक भयो भने प्रयोगकर्ताले मोबाइल एप डाउनलोड नगरीकनै क्रोम, एज, सफारी जस्ता वेब ब्राउजरमा बसेर कल गर्न सक्नेछन् ।
यसले ह्वाट्सएपलाई माइक्रोसफ्ट टिम्स जस्ता बहुप्रयोगी सञ्चार प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्लेषण गरिएको छ ।