close

बजेटपछि अर्थमन्त्रीले भने- ‘ईभीमा लिएको निर्णयमा गर्व गर्छु’

टेकपाना टेकपाना

जेठ १६, २०८२ १६:३

बजेटपछि अर्थमन्त्रीले भने- ‘ईभीमा लिएको निर्णयमा गर्व गर्छु’

काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रस्तुत बजेटमा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी गरिएका निर्णयहरूप्रति गर्व व्यक्त गरेका छन् । शुक्रबार बजेटबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले ईभीका लागि गरिएका व्यवस्थाप्रति आफू सन्तुष्ट रहेको उनले बताए ।

उनले विगतका बजेटमा ईभीसम्बन्धी भएका निर्णयहरू सबैलाई थाहा भएको र यस पटकको बजेटमा ईभीका लागि गरिएको निर्णयप्रति आफूले उपलब्धि महसुस गरेको सुनाए । “अहिले ईभीको सन्दर्भमा सरकारले गरेको जुन निर्णय गरेको छ, त्यसप्रति मैले ठिक गरे भनेर म गर्व गर्न चाहन्छु ।”

सरकारले बजेटमार्फत विद्युतीय सवारी साधनमा लाग्दै आएको करलाई यथावत् राख्ने निर्णय गरेको छ । विद्युतीय सवारी साधनमा कर नबढाउन निजी क्षेत्रले सरकारलाई लामो समयदेखि दबाब दिँदै आएको थियो ।

त्यस्तै विद्युतीय सवारी साधनको चार्जिङ मसिन उत्पादन तथा एसेम्बलिङ गर्ने उद्योग स्थापनका लागि आवश्यक पर्ने उपकरण पैठारीमा १ प्रतिशत भन्सार शुल्क मात्र लाग्ने भएको छ । यस्ता उद्योगलाई पाँच वर्षसम्म आयकर छुट दिने व्यवस्था समेत सरकारले मिलाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ १६:३