close

पूर्व मिस नेपाल खतिवडाको कम्पनी भन्दै अवैध अनलाइन बेटिङ प्लेटफर्मको प्रचार

टेकपाना टेकपाना

जेठ १८, २०८२ १३:२१

पूर्व मिस नेपाल खतिवडाको कम्पनी भन्दै अवैध अनलाइन बेटिङ प्लेटफर्मको प्रचार

काठमाडौँ । पूर्वमिस नेपाल श्रृङ्खला खतिवडाको नाम र भिडिओ दुरुपयोग गर्दै ‘आईबेट ९७ नेपाल’ नामक एक अनलाइन सट्टेबाजी प्लेटफर्मले अवैध प्रचार गरिरहेको पाइएको छ । उक्त प्लेटफर्मले खतिवडालाई आफ्नो मालिकका रूपमा प्रस्तुत गरी नेपाली प्रयोगकर्तालाई भ्रमित पार्न खोजेको हो ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘इट्स माई शो’ का तत्कालीन प्रस्तोता सुरजसिंह ठकुरीले लिएको खतिवडाको अन्तर्वार्ताको भिडिओलाई तोडमोड गरी यस्तो प्रचार गरिएको छ । भ्रामक भिडिओमा ठकुरीले ‘नयाँ काम सुरु गरेको भन्ने सुने, वास्तविकता के हो ?’ भनेर सोधेको देखाइएको छ । त्यसको जवाफमा खतिवडाले “हो सुरज । ठुलो कुरा त हो । म आईबेट ९७ को अनर (मालिक) हो ।” भनेको बनाइएको छ ।

यस प्लेटफर्मले आफू सुरक्षित भएको, जित्न सजिलो हुने, बोनस पाइने र रकम सजिलै निकाल्न सकिने जस्ता भ्रामक दाबी गर्दै नेपाली प्रयोगकर्तालाई आकर्षित गर्न खोजेको छ । यसअघि यही प्लेटफर्मले काठमाडौंका प्रमुख बालेन्द्र शाह (बालेन) को समेत डिपफेक भिडिओ बनाई दुरुपयोग गरेको थियो । त्यही शैलीले खतिवडाको भिडिओ दुरुपयोग गरेको देखिन्छ । 

खुलेआम बेटिङ र लाइभ क्यासिनोको प्रचार गर्दै यस प्लेटफर्मले नेपालीलाई नै लक्षित गरी नेपाली शब्दको प्रयोग गरेको छ । साथै आफू नेपालमा आधिकारिक रूपमा दर्ता भएको भन्दै नक्कली दर्ता कागजात समेत प्रस्तुत गरेको पाइएको छ ।

यसरी अरूको फोटो भिडिओ दुरुपयोग गरी अवैध कामको प्रचार गर्दा विद्युतीय कारोबार ऐन, २०६३ आकर्षित हुने साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । “यसमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ पनि आकर्षित हुन्छ,” अवस्थीले भने, “यसमा वैयक्तिक गोपनीयता सम्बन्धीको कसुर पनि आकर्षित हुन्छ ।”

वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ दफा १६ मा व्यक्तिको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षति पुग्ने गरी मञ्जुरीबिना तस्बिर खिच्न वा बदनाम गर्ने नियतले दुरुपयोग गर्न नहुने व्यवस्था छ । सो दफाको उपदफा (१) मा उल्लेख भए अनुसार, “कसैले कुनै पनि व्यक्तिको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षति पुग्ने गरी निजको मञ्जुरीबिना निजको तस्विर खिच्न वा निजलाई बदनाम गर्ने नियतले निजको तस्विरसँग अरू कसैको तस्विर राखी जुनसुकै तरिकाले अर्को तस्विर बनाउन वा एक व्यक्तिको तस्विरको केही अंश अर्को व्यक्तिको तस्विरको अर्को अंशसँग मिलाई अर्कै तस्विर बनाउन, प्रकाशन गर्न वा सार्वजनिक गर्न गराउन हुँदैन ।”

नेपालको मुलुकी अपराध संहिता, २०७४ को धारा १२५ ले जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ । उक्त धाराको उपदफा (२) को (क) मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र (ख) मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिका कसूरमा पटकैपिच्छे थप तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने उल्लेख छ ।

उक्त सट्टेबाजी प्लेटफर्मले आफ्नो सञ्जाल टेलिग्राममार्फत पनि विस्तार गरिरहेको खुलेको छ । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको भ्रामक भिडिओमा यो समाचार तयार पार्दासम्म झन्डै दुई हजार रियाक्सन, ४६  कमेन्ट र दुई लाख ७० हजारभन्दा बढी भ्युज पुगेको छ ।  

पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ १३:३१