close

ट्रम्पले टेस्लालाई ‘रद्दी कार’ भन्दै उत्पादनमै प्रतिबन्ध लगाउने घोषणा गरेको भिडिओ फेक

टेकपाना टेकपाना

जेठ २७, २०८२ ९:३१

ट्रम्पले टेस्लालाई ‘रद्दी कार’ भन्दै उत्पादनमै प्रतिबन्ध लगाउने घोषणा गरेको भिडिओ फेक

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टेस्ला मोटर्सको उत्पादनमाथि प्रतिबन्ध लगाएको दाबी गर्दै सामाजिक सञ्जालमा एआई-निर्मित भिडिओ भाइरल गराइएको छ । ट्रम्प र टेस्लाका मालिक एलन मस्कबिच सार्वजनिक विवाद भएपछि यो निर्णय आएको भिडिओमा देखाइएको छ । तर, विभिन्न सञ्चारमाध्यम र तथ्यजाँच सम्बन्धी अनुसन्धान गर्ने संस्थाले यो भिडिओ भ्रामक रहेको पुष्टि गरेका हुन् । 

भिडिओमा ट्रम्पले टेस्लाका गाडीहरूलाई रद्दी कार (junk car) भन्दै अमेरिकाभित्र टेस्लाको उत्पादन तत्कालै रोक्ने घोषणा गरेको देखिन्छ । ट्रम्पले ‘त्यो साँप एलनले यस देशमा पैसा कमाउन नसक्ने’ बताएको सुनिन्छ । साथै, उनले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावमा मस्कको समर्थन जुटाउनका लागि मात्र टेस्ला कार किनेको सुन्न सकिन्छ ।

भिडिओमा नक्कली ट्रम्पले बोलेको कुराको नेपाली अनुवाद:

“आज, म यो घोषणा गर्न यहाँ उपस्थित छु कि म संयुक्त राज्य अमेरिकामा टेस्लाको उत्पादनलाई तत्काल प्रभावबाट प्रतिबन्ध लगाउनेछु । सबैलाई थाहा छ, एलनले केही दिन अघि मलाई धोका दिए र आफ्नो प्लेटफर्म एक्समा मेरो बारेमा झुटो कुरा गरे । एपस्टीन फाइलहरूमा मेरो संलग्नताबारे झुट बोले । त्यसैले म राष्ट्रपति हुँदा त्यो सर्प एलनलाई यस देशमा पैसा कमाउन दिन सक्दिनँ । कसैलाई पनि टेस्ला मन पर्दैन, यदि तपाईं कोही गिक हुनुहुनुहुन्न भने । तिनीहरूमा सजिलै आगो लाग्छ र बिग्रिन्छन्, त्यसैले यो पक्कै पनि सबैभन्दा राम्रो इलेक्ट्रिक कार होइन ।

अनि हो, मैले केही महिना अघि एलनलाई मेरो समर्थन देखाउन एउटा टेस्ला किनेको थिएँ । तर मैले यसलाई कहिल्यै चलाएको छैन । त्यो केवल उसले मलाई चुनावमा समर्थन गरोस् भन्नेका लागि थियो र त्यो सफल भयो । अब म त्यो फोहोर टेस्ला बेच्नका लागि राख्दैछु । यदि कसैलाई चाहिएमा म यसलाई ६९ डलरमा दिनेछु । यही नै यी रद्दी कारहरूको वास्तविक मूल्य हो । र अझ महत्त्वपूर्ण कुरा, त्यो सर्प अब ब्याङ्करप्ट (दिवालिया) हुनेछ । ऊ केही दिनमै मसँग फेरि भिख माग्न आउनेछ ।”

यो भिडिओ फेसबुक, एक्स (ट्वीटर), टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिरहेको छ । नेपालमा पनि केही सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडिओलाई वास्तविक ठानी शेयर गरेका छन् ।

तर तथ्य जाँचको क्रममा ट्रम्पले टेस्ला उत्पादनमाथि कुनै आधिकारिक प्रतिबन्ध घोषणा गरेको पाइँदैन । हालसम्म ‘ट्रम्पले टेस्ला प्रतिबन्ध गरे’ भन्ने दाबीलाई समर्थन गर्ने कुनै विश्वसनीय समाचार स्रोत वा सरकारी निकायको पुष्टि छैन ।

‘Hive Moderation’ नामक एआई टुलले यो भिडिओ एआई जेनेरेटेड हुने सम्भावना ७६ प्रतिशत बढी रहेको देखाएको छ ।

Contrails.ai नामक अर्को टुलले पनि भिडिओ तथा अडियो दुवैमा बनावटीपना रहेको पुष्टि गरेको छ । ओठको चाल, टाउकोको गति र स्वरको लय अस्वाभाविक भेटिएको छ । यो भिडिओ एडभान्स्ड भ्वाइस क्लोनिङ प्रविधिबाट बनाइएको ‘डिपफेक’ हो भन्ने निष्कर्ष निकालिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ ९:५४