close

आईफोनमा अपरिचित मान्छेले आफ्नो नाम र फोन गर्नुको कारण खुलाए मात्र कल आउने

टेकपाना टेकपाना

जेठ २७, २०८२ १८:३७

आईफोनमा अपरिचित मान्छेले आफ्नो नाम र फोन गर्नुको कारण खुलाए मात्र कल आउने

 

काठमाडौँ । एप्पलले आईफोनका लागि ‘कल स्क्रिनिङ’ फिचर ल्याउने घोषणा गरेको छ । सोमबार आयोजित एप्पलको डेभलपर्स सम्मेलन २०२५ (डब्लूडब्लूडीसी) मा कम्पनीले आईफोनका लागि नयाँ फिचर ल्याउने जानकारी दिएको हो । 

यस वर्षको अन्तिममा सार्वजनिक हुने आईओएस २६ मा यो फिचर उपलब्ध हुनेछ । यो फिचर उपलब्ध भइसकेपछि आईफोन प्रयोगकर्ताको डिभाइसमा अपरिचित नम्बरबाट कल आउनासाथ उसलाई थाहा हुने छैन । त्यसभन्दा अगाडि नयाँ नम्बरबाट सम्पर्क गर्ने कलरले आफ्नो नाम र फोन गर्नुको कारण खुलाउनु पर्ने हुन्छ । यसरी नाम र कारण खुलाइसकेपछि मात्र आईफोन प्रयोगकर्ताकोमा फोनको रिङ बज्छ वा फोन आएको थाहा हुन्छ । प्रयोगकर्ताले उक्त जवाफ हेरेर फोन उठाउने वा नउठाउने भन्ने निर्णय लिन सक्छन् ।

कुनै कार्यालय (सरकारी कार्यालय, एयरलाइन्स, टेलिकम कम्पनी)मा सम्पर्क गर्दा साधारण तरिकाले फोनको रिङ बज्नासाथ उठ्ने भन्ने हुँदैन । त्यसका लागि फोन गर्ने व्यक्ति होल्डमा बस्नुपर्ने हुन्छ । आईफोनमा आउने कल स्क्रिनिङ फिचरले ‘होल्ड म्युजिक’ पहिचान गर्छ । र, प्रयोगकर्तालाई ‘म तिम्रो लागि यो फोन पर्खिदिउँ’ भनेर सोध्छ ।

प्रयोगकर्ताले ‘होल्ड बटन’ ट्याप गरेर अनुमति दिएमा उक्त ‘होल्ड म्युजिक’ रोकिन्छ । तर, कल भने कनेक्ट हुन्छ । त्यसपछि तपाईंले आफ्नो आवश्यकता अनुसार आईफोन प्रयोग गर्न सक्नुहुन्छ । जब तपाईंले कल गरेको एजेन्टले फोन उठाउँछ त्यसपछि उक्त फिचरले फोन उठाएको थाहा पाउँछ । र, तपाईंलाई फोन उठेको जानकारी दिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ १८:३७