close

दुर्गा प्रसाईंको ‘आओ आओ’ भिडिओ खिच्ने युट्युबरलाई ५००० धरौटीमा छाड्न जिल्ला अदालतको आदेश

टेकपाना टेकपाना

असार ४, २०८२ १८:१६

दुर्गा प्रसाईंको ‘आओ आओ’ भिडिओ खिच्ने युट्युबरलाई ५००० धरौटीमा छाड्न जिल्ला अदालतको आदेश

काठमाडौँ । गत चैत १५ गतेको राजावादी प्रदर्शनका क्रममा दुर्गा प्रसाईंले गाडीभित्रबाट ‘आओ, आओ’ भन्दै गरेको भिडिओ खिच्ने युट्युबर प्रकाशचन्द्र दाहाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ । बुधबार न्यायाधीश रेशराज शर्माको इजलासले दाहाललाई पाँच हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

इजलासका क्रममा बयान दिँदै दाहालले तीनकुने घटानामा समाचार सम्प्रेषण गर्ने काम मात्र गरेको र कुनै पनि लुटपाट र समाजलाई आतङ्कित बनाउने काम नगरेको बताएका थिए । उनले उक्त दिन आफ्नो च्यानलबाट प्रत्यक्ष प्रसारण गरेको समेत देखिएको भन्दै जिल्ला अदालतले पाँच हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

“प्राप्त प्रमाणबाट निज प्रतिवादीले पत्रकारिताको पेशागत कार्य अन्तर्गत मिति २०८१/१२/१५ गतेको जनविद्रोह घोषणा सभास्थल लगायतका स्थलको प्रत्यक्ष प्रशारण सम्म गरेको देखिएको अवस्थामा निजलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने सम्मको अवस्था नदेखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे वमोजिम हुने नै हुँदा…” आदेशमा भनिएको छ ।

चैत १५ गतेको प्रदर्शनमा आन्दोलनका कमान्डर दुर्गा प्रसाईं प्रहरीको सुरक्षा घेरा तोड्ने प्रयास गर्दै तीनकुनेबाट बानेश्वरस्थित संसद् भवनतर्फ जाँदै थिए । सोही क्रममा गाडीमै सवार प्रकाशचन्द्र दाहालले प्रसाईंले ‘आओ, आओ’ भन्दै भिडलाई आफूतिर बोलाइरहेको दृश्य खिचेका थिए । उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सोपछि उनीविरुद्ध आपराधिक उपद्रव र सङ्गठित अपराधको अभियोगमा मुद्दा दायर गरिएको थियो ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:२३