विदेशीको अपुताली धन पाउने लोभमा एक नेपालीले अनलाइनबाट यसरी गुमाए ६२ लाख रुपैयाँ
असार ११, २०८२ १४:२२
एआईबाट तयार पारिएको तस्बिर
काठमाडौँ । फेसबुक मेसेन्जरमा आफूलाई थाइल्यान्डको बैंकको म्यानेजर बताउँदै लाखौँ ठगी गरेर फरार भएका एक व्यक्ति पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सुनसरी देवानगञ्ज गाउँपालिका वडा नं का २० वर्षीय कुशेश्वर मेहता छन् ।
उनलाई साइबर ब्युरोको अनुरोधमा जिल्ला प्रहरी कार्यालय सुनसरीले मंगलबार पक्राउ गरेको हो । उनलाई कोशी गाउँपालिका वडा नं ८ भण्टाबारीस्थित नेपाल-भारत सीमा क्षेत्र आसपासमा लुकीछिपी बसेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार मेहताले ‘Vanida Suwan’ नामको फेसबुक आईडी बनाएका थिए । उनले आफ्नो नाम ‘Phueng Vanida’ रहेको र आफू थाइल्याण्डको एसआईएम कमर्सियल बैंकको म्यानेजर रहेको भन्दै रमेश शाही (नाम परिवर्तन) लाई मेसेज गरेका थिए ।
मेहताले बैंकमा ‘एलेन रवि शाही’ नामको खाता रहेको, तर ती व्यक्ति जीवित नरहेको भन्दै अपुतालीको सम्पत्ति खाने आफन्त कोही नभएको कुरा रमेशलाई सुनाएका थिए । एलेन रवि र रमेश दुवैको थर एउटै भएकाले बैंक खातामा भएको रकम सबै रमेशलाई ट्रान्सफर गरिदिने विश्वास पनि दिलाए ।
त्यसपछि विभिन्न बहानामा पटक-पटक गरेर उनले शाहीबाट फरक-फरक बैंक खातामा ६२ लाख ७५ हजार २०० रुपैयाँ राख्न लगाएका थिए ।
धेरै समयपछि मात्र शाहीले आफू ठगिएको चाल पाए, अनि उजुरी टिपाउन साइबर ब्युरो पुगे । सोही उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा आफूलाई विदेशी बैंकको म्यानेजर भनेर चिनाउने कुशेश्वर मेहताको संलग्नता भेटियो ।
यस्तो स्क्याम कसरी हुन्छ ?
फेसबुक, मेसेन्जर, ईमेल वा ह्वाट्सएपबाट सम्पर्क
- स्क्यामरले फेक प्रोफाइल बनाउँछन् ।
- प्रायः आफूलाई विदेशी नागरिक, बैंक म्यानेजर, वकिल वा सरकारी कर्मचारीको रुपमा चिनाउँछन् ।
आकर्षक प्रस्ताव दिन्छन्
- भन्छन्, ‘तिम्रो थरको मान्छे विदेशमा मरेका छन्, उनले धेरै पैसा छोडेका छन् ।’
- ‘तिम्रो नाम मिलेको भएर सम्पत्ति तिमीले पाउने हो’ भन्ने कुरा गर्छन् ।
- कतिपयले लट्री परेको, फाउन्डेसन वा सहयोगको पैसा पाउने भन्दै पनि झुक्याउँछन् ।
कागजपत्र सक्कली देखाउने प्रयास
- बैंकका फेक कागजात, अकाउन्ट डिटेल, पासपोर्ट, डेथ सर्टिफिकेट जस्ता नक्कली डकुमेन्ट पठाउँछन् ।
- कुराकानी गर्दा प्रोफेसनल देखिने भाषा प्रयोग गर्छन् ।
सावधानीको बहानामा ‘प्रोसेसिङ’ शुल्क माग्छन्
- सम्पत्ति ट्रान्सफर गर्न बैंक फी, कस्टम क्लियरन्स, ट्याक्स, कागज बनाउन लाग्ने खर्च माग्छन् ।
- भन्छन्- ‘एकचोटि शुल्क तिर्दा तिम्रो खातामा करोडौँ आउँछ ।’
पैसा पठाउन लगाउने तर…
- पटक–पटक सानो देखिने तर ठुलो रकम बटुल्छन् ।
- जब उनीहरू रकम उठाइसक्छन्, त्यसपछि सम्पर्क बन्द गर्छन् ।
- यसपछि मात्र पीडितले आफू ठगिएको चाल पाउँछन् ।
यस्तो ठगीबाट कसरी बच्ने ?
-
सामाजिक सञ्जालबाट आएको यस्ता अपुताली सम्पत्ति वा लट्रीसम्बन्धी अफर नपत्याउने ।
-
अञ्जान व्यक्तिलाई आफ्नो व्यक्तिगत विवरण नदिने ।
-
कुनै पनि रकम मागेमा तुरुन्तै शंका गर्ने ।
-
यस्ता मेसेज वा प्रस्ताव आएमा तुरुन्तै साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उजुरी दिने ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:४७
