काठमाडौँ । वैज्ञानिकहरू लामो समयदेखि ताराहरू पनि मानिसझैं एकपटक मात्र मर्ने विश्वासमा थिए । तर, यो मान्यता बदल्ने नयाँ प्रमाण भेटिएको छ । युरोपियन स्पेस अब्जरभेटरी (ईएसओ) का वैज्ञानिकहरूले ताराको दोहोरो विस्फोट (डबल डेटोनेसन) भएको दृश्य प्रमाण पहिलोपटक फेला पारेका छन् । यो तथ्यले ताराको दुईपटक ‘मृत्यु’ हुनसक्ने देखाएको छ ।
नयाँ अनुसन्धानले एक लाख ६० हजार प्रकाश वर्ष टाढा रहेको सुपरनोभा ‘SNR 0509-67.5’ को अवशेषमा दोहोरो विस्फोटको प्रमाण फेला पारेको हो । लगभग ३०० वर्षअघि बनेको मानिने उक्त सुपरनोभाको अवशेषले तारा दुई पटक विस्फोट भएको स्पष्ट संकेत देखाएको थियो ।
यस अध्ययनको नेतृत्व गरेका न्यू साउथ वेल्स विश्वविद्यालयका अनुसन्धानकर्ता प्रियम दासले एक विज्ञप्तिमा भने, “डबल-डेटोनेसनको यो ठोस प्रमाणले लामो समयदेखिको रहस्य समाधान गर्न मात्र मद्दत गर्दैन, यसले एउटा अद्भुत दृश्य पनि प्रस्तुत गरेको छ ।”
वैज्ञानिकहरूले ‘भेरी लार्ज टेलिस्कोप’ (भीएलटी) र ‘मल्टी युनिट स्पेक्ट्रोस्कोपिक एक्सप्लोरर (एमयूएसई)’ को सहयोगमा यो अध्ययन गरेका थिए । यो खोजले ताराले सुपरनोभा बन्न चन्द्रशेखर सीमा (सूर्यको तुलनामा करिब १.४ गुणा बढी भार) नपुग्दै पनि विस्फोट गर्न सक्ने संकेत दिएको छ ।
ईएसओको अनुसन्धान र हबल स्पेस टेलिस्कोपको तथ्यांकअनुसार 'SNR 0509-67.5' एक 'ह्वाइट ड्वार्फ' (सेतो पुड्के) तारा भएको पुष्टि भएको छ । यस्ता ताराहरूमा हुने विस्फोटलाई ‘टाइप Ia सुपरनोभा’ भनिन्छ, जुन खगोलशास्त्रीहरूका लागि ब्रह्माण्डीय दूरी नाप्न अत्यन्तै उपयोगी मानिन्छ । यी सुपरनोभाहरूले समान मात्रामा प्रकाश उत्सर्जन गर्ने भएकाले यिनलाई ‘स्ट्यान्डर्ड क्यान्डल' पनि भनिन्छ।
दुई पटक कसरी हुन्छ विस्फोट ?
अहिलेसम्मको प्रचलित मान्यताअनुसार, दुई ओटा ताराको प्रणालीमा एउटा तारा मरेर ह्वाइट ड्वार्फ बन्छ र त्यसले आफ्नो जीवित साथी ताराबाट पदार्थ खिच्न थाल्छ । यसरी पदार्थ खिच्दै जाँदा चन्द्रशेखर सीमा पार गरेपछि ह्वाइट ड्वार्फ विस्फोट हुन्छ भन्ने विश्वास थियो ।
नयाँ सिद्धान्तअनुसार भने जब ह्वाइट ड्वार्फले साथी ताराबाट पदार्थ खिच्न थाल्छ, उसले आफ्नो वरिपरि चोरिएको हेलियमको तह बनाउँछ । यो हेलियम अस्थिर भएर जल्न थाल्छ, जसले पहिलो विस्फोट गराउँछ ।
यो पहिलो विस्फोटले भित्रतर्फ एक शक्तिशाली तरंग (shockwave) पैदा गर्छ, जसले ह्वाइट ड्वार्फको केन्द्र (core) मा ठोक्किन्छ । यसले दोस्रो र शक्तिशाली विस्फोट गराउँछ, जसबाट वास्तविक सुपरनोभा बन्दछ ।
यो प्रक्रिया चन्द्रशेखर सीमा पार गर्नुअघि नै हुनसक्ने भएकाले यो खोज महत्त्वपूर्ण मानिएको छ । वैज्ञानिकहरूले सुपरनोभाको अवशेषमा यस्तो दुई चरणको विस्फोटले लामो समयसम्म रहने फिङ्गरप्रिन्ट छोड्ने र त्यो 'SNR 0509-67.5' को अवशेषमा पुष्टि भएको बताएका छन् ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १९:१
