काठमाडौँ । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स हालै आफ्नी छोरी फोबी गेट्सको फेसन–टेक स्टार्टअप ‘फिया’ (Chia) मा एक दिनका लागि ग्राहक सेवा प्रतिनिधि (कस्टमर सर्भिस) को भूमिकामा देखिए ।
गेट्सले आफ्नो अनुभव लिंक्डइनमा शेयर गर्दै लेखेका छन्, “जब तपाईंकी छोरीले उनको स्टार्टअपमा ग्राहक सेवाको काम गर्न अनुरोध गर्छिन, तब त्यसको एउटै सही जवाफ हुन्छ, ‘हुन्छ’ ।”
तर यो काम गर्नुको पछाडि उनको अझ महत्त्वपूर्ण उद्देश्य थियो । उनले थपे, “मैले वर्षौंदेखि के सिकेको छु भने कुनै पनि कुराले कसरी काम गर्छ वा कहाँ समस्या छ भनेर बुझ्ने सबैभन्दा राम्रो तरिका भनेको त्यसलाई प्रयोग गर्ने मानिसहरूसम्म सिधै पुग्नु हो ।”
के हो ‘फिया’ ?
फिया एउटा ब्राउजर एक्सटेन्सन र मोबाइल एप हो, जसले प्रयोगकर्तालाई स्मार्ट तरिकाले किनमेल गर्न सघाउँछ । यसले एआई प्रयोग गरी ४० हजारभन्दा बढी अनलाइन स्टोरहरूमा नयाँ तथा सेकेन्ड-ह्यान्ड दुवै सामानको मूल्य तुलना गर्छ ।
यसका साथै, फियाले वातावरणमैत्री विकल्पहरू पनि देखाउँछ । यसले विशेषगरी जेन जी (Gen Z) पुस्ताको दिगो र किफायती फेसनप्रतिको बढ्दो रुचिलाई सम्बोधन गर्छ । बिल गेट्सले यो स्टार्टअपलाई ‘फेसनको booking.com’ को संज्ञा दिँदै दिगोपनलाई केन्द्रमा राखेर अनलाइन किनमेललाई नयाँ दिशा दिने प्रयासको प्रशंसा गरेका छन् ।
चाखलाग्दो कुरा के छ भने बिल गेट्सले छोरीको यो स्टार्टअपमा कुनै पनि आर्थिक लगानी गरेका छैनन् । एक पोडकास्टमा उनले खुलासा गरेअनुसार उनको आर्थिक लगानी गर्दा उनी छोरीको व्यवसाथमा संलग्न हुन्थे भने यसले उनको छोरी फोबी र अर्की सह-संस्थापक सोफिया कियानीले लिनुपर्ने निर्णयहरूमा उनको प्रभाव पर्न सक्थ्यो । त्यसको सट्टा उनले मेन्टरसिप (मार्गदर्शन) र यस पटक जस्तै आफैं फ्रन्टलाइनमा बसेर सहयोग गर्ने बाटो रोजेका छन् ।
आफ्नो कम्पनीको समस्या बुझ्न आफैं कार्यक्षेत्रमा उत्रिएर काम गर्ने पछिल्ला अभ्यासमा गेट्सले पनि आफूलाई उभ्याएका छन् । उदाहरणका लागिः उबरका सीईओ दारा खोसरोशाहीले महामारीको समयमा उबर इट्सको डेलिभरी ड्राइभरको रूपमा काम गरेका थिए । पछि उनले आफ्नो अनुभवले ड्राइभरहरूले भोग्ने समस्याहरू पहिचान गर्न मद्दत पुर्याएको बताए ।
माथिल्ला व्यवस्थापनले वेवास्ता गर्ने यस्ता साना समस्या बुझ्न फिल्डमा उत्रिएर काम गर्दा सहज हुने उनको अनुभव थियो ।
पछिल्लो अध्यावधिक: साउन ८, २०८२ १८:३५
