close

कर्पोरेट प्रयोगकर्तालाई सबै बैङ्किङ सुविधा एकै प्लेटफर्ममा दिने नेपाली सफ्टवेयर ‘र्‍यापिड’

टेकपाना टेकपाना

मंसिर ७, २०८२ १६:४३

कर्पोरेट प्रयोगकर्तालाई सबै बैङ्किङ सुविधा एकै प्लेटफर्ममा दिने नेपाली सफ्टवेयर ‘र्‍यापिड’

काठमाडौँ । अब कर्पोरेट ग्राहकहरूले आफ्नो खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट लिन, पैसा ट्रान्सफर गर्न, मासिक किस्ता (ईएमआई) तिर्न वा तलब भुक्तानी गर्न फरक-फरक प्लेटफर्ममा जानुपर्ने झन्झट हट्ने भएको छ । नेपाली प्रविधि कम्पनी गोक्यो ल्याब्सले यस्ता सबै सेवा एकै ठाउँबाट उपयोग गर्न मिल्ने प्लेटफर्म विकास गरेको हो । 

ओपन बैँकिङ अवधारणामा आधारित उक्त प्लेटफर्मलाई ‘र्‍यापिड’ नाम दिइएको छ । यसअघि कर्पोरेट ग्राहकहरूले यी कार्यका लागि विभिन्न बैँक र सफ्टवेयर प्लेटफर्म प्रयोग गर्नुपर्थ्यो । जसले समय र स्रोत दुवै खर्चिलो थियो । 

तर, अब बैँक तथा वित्तीय संस्थाले आफ्नो प्रणालीमा र्‍यापिड  इन्टिग्रेट गरेपछि प्रयोगकर्ताले आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीबाट एउटै प्लेटफर्म प्रयोग गरेर सबै बैँकिङ गतिविधि गर्न सक्ने छन् । सुरुआती चरणमा ग्लोबल आईएमई बैँकमा खाता रहेका टिग अकाउन्टिङ सफ्टवेयरका प्रयोगकर्ताले र्‍यापिडको सुविधा पाउनेछन् । 

प्रयोगकर्ताले ‘Connect with API Banking’ मा गएर आफ्नो बैँक खाता लिङ्क गर्न सक्ने कम्पनीले जनाएको छ । र्‍यापिडले कर्पोरेट बैँकिङ सेवा प्रवाहमा ठुलो रूपान्तरण ल्याउने गोक्यो ल्याब्सका बिजनेस प्रमुख अशितोष साहले बताए । नयाँ प्रणालीले वित्तीय कामकाजलाई डिजिटल रूपमा एकीकृत गर्दै व्यवसायहरूको समय, लागत र सञ्चालन झन्झट उल्लेखनीय रूपमा घटाउने उनको भनाइ छ ।

“सुरुआतमा यो सुविधा ग्लोबल आईएमई बैँकमा लाइभ भएको छ । अब हामी छिट्टै अन्य प्रमुख बैँक र विभिन्न सफ्टवेयर प्रदायकहरूसँग सहकार्य विस्तार गर्दैछौँ,’ साहले भने । 

अहिले ग्लोबल ईएमई बैँकबाट ब्यालेन्स र स्टेटमेन्ट सुविधा लाइभ भएको छ । बाँकी सुविधाहरू पनि विस्तारै उपलब्ध हुने बताइएको छ । र्‍यापिडको विस्तारसँगै नेपालको एपीआई बैँकिङ इकोसिस्टमले एकीकृत, सहज र सुरक्षित डिजिटल लेनदेनको नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको साहले बताए । 

सेवा कसरी लिने ?

ग्राहकले सेवा प्रयोग गर्नका लागि बैँकमा गएर एक पटक मात्र मोबाइल बैँकिङ जस्तै फाराम भर्नुपर्छ । त्यसपछि सबै काम अनलाइनबाटै गर्न सकिन्छ । र्‍यापिडले ग्राहकको अनुमति (consent) प्रक्रियालाई पनि डिजिटल बनाएको छ, जसले थप सहजता र पारदर्शिता थप्ने विश्वास कम्पनीको छ ।

सुरक्षाका दृष्टिले र्‍यापिडमा एण्ड-टु-एण्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेसन र अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले सबै प्रकारका कारोबारलाई सुरक्षित बनाउने दाबी छ ।

यसबाहेक र्‍यापिडले एपीआई बैँकिङ अवधारणालाई सुलभ बनाउँदै साना, मझौला तथा ठुला व्यवसायका लागि समान पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ । र्‍यापिड प्लेटफर्मले बैँकिङ एज अ सर्भिस (BaaS) मोडेललाई अघि बढाउने र बैँक, फिनटेक र डिजिटल सेवा प्रदायकबिच सहकार्यलाई नयाँ स्तरमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०८२ ११:१८