शार्क ट्याङ्क नेपाल: प्रस्ताव गरेभन्दा बढी मूल्याङ्कन सहित वायुदृष्टिलाई एक करोड लगानी
साउन २२, २०८२ १५:१०
काठमाडौँ । नेपालमा नै सस्तो मूल्यमा वायु प्रदूषण मापन उपकरण बनाउने स्टार्टअप वायुदृष्टिले माग गरेभन्दा बढी मूल्याङ्कन लगानी हात पारेको छ । बुधबार राति हिमालय टिभीमा प्रसारण भएको बिजनेस रियालिटी शो शार्क ट्याङ्क नेपालबाट कम्पनीले दुई करोड ५० लाख रुपैयाँको मूल्याङ्कनसहित एक करोड लगानी पाएको हो ।
कम्पनीका सह-संस्थापकहरू मध्येका दिदी-भाई सक्रिय र श्रीशा पाण्डेले शार्क ट्याकमा ‘वायुदृष्टि’लाई प्रस्तुत गरेका थिए । उनीहरूले आफ्नो कम्पनीको दुई करोड रुपैयाँ मूल्याङ्कन गर्दै २०% इक्विटीमा ४० लाख रुपैयाँ लगानी माग गरेका थिए । पाँचै जना शार्कले कम्पनीको विस्तारका लागि धेरै लगानी चाहिने भन्दै दुई करोड ५० लाख मूल्याङ्कन गर्दै ४०% इक्विटीमा एक करोड रुपैयाँ लगानी प्रस्ताव गरे । उक्त प्रस्तावमा स्वीकृति जनाउँदै डिल फाइनल भएको थियो ।
शार्क ट्याङ्क नेपालमा आफ्नो आइडियालाई पिच गर्दाको अनुभव निकै रोमाञ्चक भएको वायुदृष्टिका सीईओ सक्रिय पाण्डे बताउँछन् । उनले भने, “हामीले लगभग ५० मिनेट आइडिया पिच गरेका थियौँ । सबै शार्कले हाम्रो कम्पनीको आइडिया मन पराइ दिनुभयो । पछि भेट्दा पनि राम्रो रेस्पोन्स दिनु भएको छ ।” शार्कहरूसँग बैठक बसेर लगानीको कागजात फाइनल गर्ने कामहरू भइरहेको उनले सुनाए ।
प्राप्त लगानी रकमबाट वायुदृष्टिका उत्पादन पक्षलाई विस्तार गर्न डिभाइसहरूको उत्पादन सङ्ख्या बढाउने, एआई मोडललाई अझै विस्तार गर्ने योजना अघि बढाएको उनले बताए । बङ्गलादेश, श्रीलङ्का र मालदिभ्समा पनि डिभाइस विस्तार गर्ने समेत तयारी भइरहेको छ ।
यसैबिचमा वायुदृष्टिले आफ्नो उत्पादनको लागि कपिराइट अधिकार पनि पाएको उनले सुनाए । दुई महिना भित्र एयर प्युरिफायर बजारमा ल्याउने योजना अघि बढाइएको छ ।
‘वायुदृष्टि’ वायु प्रदूषण मापन गर्ने सस्तो र बोक्न सजिलो उपकरण निर्माण गर्ने स्टार्टअप हो । यसले वास्तविक समयमा वायुको गुणस्तरको जानकारी दिनुका साथै एआईमार्फत सात दिनपछिको प्रदूषणको अवस्थाबारे भविष्यवाणी समेत गर्न सक्छ ।
१९ वर्षीय सक्रिय पाण्डे, २३ वर्षीय श्रीशा पाण्डे, २१ वर्षीय मञ्जिला पाण्डे र २५ वर्षीय विक्रम थापा सम्मिलित टोलीले यो उपकरण विकास गरेको हो । हाल बजारमा उपलब्ध ३० हजार डलर (करिब ४१ लाख रुपैयाँ) पर्ने महँगा उपकरणको तुलनामा वायुदृष्टिको उपकरणले करिब ३५ हजार रुपैयाँबाट नै भरपर्दो नतिजा दिन्छ । उक्त डिभाइस आफूले चाहे अनुसारको कस्टमाइज समेत गर्न सक्ने सुविधा दिइन्छ । कम्पनीले वायु प्रदूषणबाट बच्ने एयर प्युरिफायर लगायतका डिभाइस समेत ल्याउने तयारी गरेको छ ।
पछिल्लो अध्यावधिक: साउन २२, २०८२ १५:११
