काठमाडौँ । डिजाइन सफ्टवेयर कम्पनी फिग्माको एआईबाट एप तयार पार्न सकिने टुल 'फिग्मा मेक' सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध भएको छ । यसअघि बेटा संस्करणमा फिग्माको 'फुल सिट' भएका प्रयोगकर्ताहरूका लागि मात्र सीमित यो टुल अब सबैका लागि खुला गरिएको हो ।
फिग्मा मेक एउटा प्रम्प्ट-टु-एप कोडिङ टुल हो । यसले प्रयोगकर्ताहरूलाई प्राकृतिक भाषामा वर्णन गरेरै कार्यमूलक प्रोटोटाइप र एप विकास गर्ने सुविधा दिन्छ । यसका लागि प्रयोगकर्तालाई कुनै पनि प्रकारको कोडिङ सीपको आवश्यकता पर्दैन । यो टुल गुगलको जेमनाई कोड असिस्ट (Gemini Code Assist) र माइक्रोसफ्टको गिटहब कोपाइलट जस्ता एआई कोडिङ टुलहरूसँग मिल्दोजुल्दो छ ।
फिग्मा मेकले डिजाइन सन्दर्भहरू पनि समावेश गर्न सक्छ । यसबाट प्रयोगकर्ताहरूले आफूले सिर्जना गर्न चाहेको प्रोटोटाइपको विवरणका साथै कुनै तस्बिर वा फिग्मा डिजाइन अपलोड गर्न सक्छन् । जसले अन्तिम नतिजा कस्तो देखिनुपर्छ भन्ने कुरामा मार्गदर्शन उपलब्ध गराउँछ ।
टेक्स्ट फर्म्याटिङ र फन्ट स्टाइललाई थप एआई प्रम्प्टहरू प्रयोग गरेर वा म्यानुअल रूपमा सम्पादन गर्न सकिन्छ । हाल बेटा भर्सनमा रहेको डिजाइनहरू पब्लिस गर्ने क्षमता 'फुल सिट'को पहुँच भएका प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध हुनेछ । यस्ता प्रयोगकर्ताले हाललाई एआई फिचरमा अनलिमिटेड पहुँच पाउनेछन् ।
भ्यु, कोल्याब, डेभ र निःशुल्क स्टार्टर सिटका प्रयोगकर्ताले फिग्मा मेकलाई आफ्नो व्यक्तिगत ड्राफ्टमा मात्र प्रयोग गर्न पाउनेछन् । यस्ता प्रयोगकर्ताले फिग्मा मेकको डेमो प्रयोग गर्न सक्नेछन् । तर तयार पारिएका डिजाइनहरू पब्लिस गर्न वा पूर्ण रूपमा प्रयोग गर्नका लागि फुल एक्सेस सब्सक्रिप्सनमा अपग्रेड गर्नुपर्नेछ ।
फिग्माले आफ्नो प्लेटफर्मका एआई टुलहरू प्रयोग गर्नका लागि नयाँ एआई क्रेडिट प्रणाली पनि ल्याएको छ । क्रेडिटहरू सशुल्क सब्सक्रिप्सन प्याकेजका आधारमा छुट्याइनेछ । भ्यु, कोल्याब र डेभ सिट प्रयोगकर्ताहरूलाई कम क्रेडिट सीमा दिइनेछ । यद्यपि फुल सिट प्रयोगकर्ताहरूले हाललाई असीमित पहुँच पाउनेछन् । फिग्माका अनुसार एआई क्रेडिट 'फुल सिट' का दैनिक आवश्यकताहरू पूरा गर्नका लागि पर्याप्त हुनेछ । तर बढी आवश्यकता पर्ने प्रयोगकर्ताहरूले यस वर्षको अन्त्यमा थप क्रेडिटहरू किन्न सक्ने बताइएको छ ।
फिग्मा मेकसँगै मेक एन्ड एडिट इमेज टुल र रिजोलुसन बुस्टिङ फिचर जस्ता अन्य फिग्मा सुविधाहरू पनि बेटाबाट बाहिरिएका छन् । फिग्माको डिजाइन प्रक्रियालाई थप स्वचालित र सबैका लागि पहुँचयोग्य बनाउने दिशामा यसलाई एउटा महत्त्वपूर्ण कदम मानिएको छ ।
पछिल्लो अध्यावधिक: साउन १०, २०८२ १९:०
