काठमाडौँ । नेपाल टेलिकमको कोर प्रणालीमा समस्या आउँदा मोबाइल डेटा ठप्प बनेको छ । दिउँसो १:४५ बजेदेखि टेलिकमको नेटवर्कमा डेटा सेवा चल्न छोडेको हो ।
टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले कोर प्रणालीमा प्राविधिक समस्या देखिएपछि मोबाइल डेटा चल्न छोडेको जानकारी दिए । “दिउँसो पौने २ बजेदेखि हाम्रो कोर सिस्टममा प्राविधिक समस्या देखिएको छ । हाम्रा प्राविधिकहरू समस्या समाधान गर्न खटिनु भएको छ । समस्या समाधान भएपछि थप विषय थाहा होला,” मानन्धरले टेकपानासँग भने । डेटा नचल्ने समस्या देशभरका ग्राहकले भोगिरहेका छन् ।
कम्पनीले केही समय अघि एक सूचना जारी गर्दै फोरजी तथा भोल्टे सेवामा समस्या उत्पन्न हुन गएको र टुजी तथा थ्रिजी सेवा भने नियमित रूपमा सञ्चालनमा रहेको जानकारी दिएको छ । "फोरजी तथा भोल्ट सेवामा उत्पन्न समस्या यथाशीघ्र समाधानका लागि प्रयास भइरहेको ब्यहोरा समेत अनुरोध छ," कम्पनीले भनेको छ, "यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति कम्पनी क्षमाप्रार्थी छ ।"
दुई महिनाअघि मात्रै टेलिकमको नेटवर्कमा समस्या आउँदा फोन, डेटा र एसएमएस सेवा अवरुद्ध बनेको थियो ।
पछिल्लो अध्यावधिक: साउन १२, २०८२ १६:४०
