close

२३ ब्रान्डका ईभीसहित नाइमा नेपाल मोबिलिटी एक्स्पो हुँदै, हेर्न जानेलाई पठाओमा ३०% छुट

टेकपाना टेकपाना

साउन १२, २०८२ १९:१८

२३ ब्रान्डका ईभीसहित नाइमा नेपाल मोबिलिटी एक्स्पो हुँदै, हेर्न जानेलाई पठाओमा ३०% छुट

काठमाडौँ । यही २१ साउनदेखि सुरु हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पोमा २०२५’ मा ५० ओटा ब्रान्डका गाडीहरू प्रदर्शन गरिने भएको छ । हालै मात्र गठन भएको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले यो एक्स्पो आयोजना गर्दैछ, जुन विद्युतीय सवारीसाधनमय हुने अनुमान छ  । ५० विभिन्न ब्रान्डका दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा यात्रु वाहक सवारीमा २३ ओटा ब्रान्ड विद्युतीय सवारीका भएको नाइमाले जनाएको छ । 

सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै नाइमाले यस विषयमा जानकारी दिएको हो । यस एक्स्पोमा १५ ओटा दुई पाङ्ग्रे, १५ ओटा चार पाङ्ग्रे र ५ ओटा कर्मसियल गाडीहरू सार्वजनिक हुने बताइएको छ । यस्तै एक्स्पोको टिकेट खल्तीबाट खरिद गर्न सकिनेछ भने भौतिक रूपमा कार्यक्रम स्थलमा समेत टिकेटको व्यवस्था मिलाइनेछ । 

जसमा साधारण टिकेटको मूल्य २०० रूपैयाँ छ भने विद्यार्थी र विशेष क्षमता भएका व्यक्तिहरूका लागि १०० रूपैयाँ तोकिएको छ ।  

यस्तै एक्स्पो अवलोकन गर्न आउनेहरूका लागि पठाओमा छुटको पनि व्यवस्था मिलाइएको छ । नाइमाका अनुसार एक्स्पोसम्म आउने तथा एक्स्पोबाट आफ्नो गन्तव्य जाने यात्रुहरूले पठाओ राइडमा ३० प्रतिशतसम्मको छुट पाउनेछन् । 

यस्तै एक्स्पो अवधिभर इन्टरनेट कनेक्टिभिटिको व्यवस्थापन एनसेलले गर्नेछ । यही मौकामा नाइमाले एक्स्पोलाई लक्षित गर्दै अनलाइन प्रतियोगिता पनि सार्वजनिक गरेको छ । यो प्रतियोगितामा २१ साउनसम्म नाइमा अटो एक्स्पो सम्बन्धी भिडिओ बनाएर आफ्नो सामाजिक सञ्जालमा अपलोड गर्ने एक व्यक्तिले एक लाख रुपैयाँ र २१ साउनदेखि २५ साउनसम्म अपलोड भएका १० उत्कृष्ट भिडिओ पोस्टलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार दिइने नाइमाका अध्यक्ष ऋतुसिँह वैद्यले बताइन् ।

 

पछिल्लो अध्यावधिक: साउन १२, २०८२ १९:१८