close

माइक्रोसफ्ट एजमा आयो ‘कोपाइलट मोड’, अब ब्राउजरमै पाइनेछ एआईको साथ

टेकपाना टेकपाना

साउन १३, २०८२ ८:२०

माइक्रोसफ्ट एजमा आयो ‘कोपाइलट मोड’, अब ब्राउजरमै पाइनेछ एआईको साथ

काठमाडौँ । प्रविधिको दुनियाँमा बढ्दो एआई-सञ्चालित ब्राउजरको मागलाई सम्बोधन गर्दै माइक्रोसफ्टले आफ्नो एज ब्राउजरमा ‘कोपाइलट मोड’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । ब्राउजिङ गर्दा एआईबाट प्रत्यक्ष सहयोग लिन सकिने सुविधासहित कम्पनीले सोमबार यस्तो फिचर ल्याएको हो  ।

प्रयोगकर्ताले के खोजिरहेका छन् भनेर बुझ्न, उनीहरूले के गर्न चाहन्छन् भन्ने अनुमान गर्न र सोहीअनुसार कार्य गर्न कोपाइलट मोडले सघाउने बताइएको छ  ।

यो फिचर व्यावहारिक रूपमा कति सफल हुन्छ, त्यो भविष्यले नै देखाउला  । तर माइक्रोसफ्टले कोपाइलट मोडलाई अझै परीक्षणकै चरणमा रहेको प्रयोगात्मक फिचर मानेको छ । परीक्षणकालमा यो सुविधा प्रयोगकर्ताले चाहेमा मात्रै सक्रिय (अप्ट-इन) गर्न सक्नेछन् । हाललाई कोपाइलटमा पहुँच भएका म्याक वा पीसी प्रयोगकर्ताहरूका लागि यो निःशुल्क उपलब्ध छ ।

केके छन् सुविधा ?

यो फिचर सक्रिय गरेपछि एज प्रयोगकर्ताले एउटा नयाँ ट्याब पेज देख्नेछन्, जहाँ उनीहरूले कोपाइलटको सहायताले वेबमा सर्च, च्याट र नेभिगेट गर्न सक्नेछन् । कुनै निश्चित वेब पेज हेरिरहेको बेला पनि थप मद्दतका लागि कोपाइलटको प्रयोग गर्न सकिन्छ ।

उदाहरणका लागि, यदि कोही व्यक्तिले कुनै खानाको रेसिपी हेरिरहेको छ भने, उसले एआईलाई सो रेसिपीलाई शाकाहारी बनाउन सकिन्छ कि भनेर सोध्न सक्छ । र, कोपाइलटले त्यसका लागि आवश्यक सुझाव दिन्छ । यस्ता प्रश्नहरू आजकाल प्रयोगकर्ताले सामान्य एआई च्याटबटलाई पनि सोध्न सक्छन्, तर यो फिचरले गर्दा चाहेको सामग्री कपी-पेस्ट गर्नुपर्ने झन्झट हट्ने बताइएको छ ।

यसका अतिरिक्त, कोपाइलटले प्रयोगकर्ताका तर्फबाट विभिन्न कार्यहरू जस्तै; अपोइन्टमेन्ट बुक गर्ने, शपिङ लिस्ट बनाउने र कन्टेन्ट ड्राफ्ट गर्ने जस्ता काम पनि गर्न सक्छ ।

यो फिचरको अर्को रोचक पक्ष अनुसन्धानमा सहयोगीको भूमिका निर्वाह गर्नु हो । प्रयोगकर्ताको अनुमतिमा कोपाइलटले खोलिएका सबै ट्याबहरू हेरेर व्यक्तिले के ब्राउज गरिरहेको छ भनेर बुझ्न सक्छ । यो सुविधा विशेषगरी विभिन्न साइटहरूमा मूल्य/स्पेक्स तुलना गर्दा उपयोगी हुन सक्छ ।

एआईको यो ‘एजेन्टिक’ (आफैं कार्य गर्नसक्ने) प्रयोग ब्राउजर प्रतिस्पर्धामा नयाँ फड्को भएको विश्लेषण गरिएको छ । यद्यपि, कुनै वेबसाइटसँगको आफ्नो परिचितताको आधारमा आफैंले गर्नुभन्दा एआईसँग कुराकानी गरेर विकल्पहरू खोज्नु सधैं छिटो र राम्रो नहुन सक्छ ।

माइक्रोसफ्टले भविष्यमा कोपाइलटले प्रयोगकर्तालाई उनीहरूले छोडेको काम वा अनुसन्धानलाई निरन्तरता दिन अर्को चरणका लागि सुझावहरू समेत दिने बताएको छ ।

कोपाइलटमा भ्वाइस इनपुटको सुविधा पनि छ, जुन अनलाइनमा काम गर्न त्यति अभ्यस्त नभएका वा सीमित शारीरिक क्षमता भएका व्यक्तिहरूका लागि उपयोगी हुनसक्छ ।

कम्पनीका अनुसार प्रयोगकर्ताले अनुमति दिएको खण्डमा मात्र कोपाइलटले ब्राउजिङ सामग्रीमा पहुँच राख्नेछ र यो कुरा प्रयोगकर्तालाई स्पष्ट रूपमा देखाइनेछ । तर, खोज्ने क्रममा तपाइँलाई हेर्न र सुन्न सक्ने फिचरलाई अन वा अफ गर्न मिल्ने यो सुविधाले केही मानिसहरूमा असहजता पैदा गर्नसक्छ ।

-टेकक्रन्च सहयोगमा

पछिल्लो अध्यावधिक: साउन १३, २०८२ ९:१६