काठमाडौँ । चर्चित डिस्कसन फोरम रेडिट अब सर्च इन्जिनको क्षेत्रमा प्रवेश गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टिभ हफम्यानले लगानीकर्ताहरूलाई गरेको सम्बोधनमा रेडिटलाई एक प्रमुख सर्च इन्जिन बनाउने योजना रहेको खुलासा गरेका हुन् ।
रेडिटले हालै च्याटजीपीटी निर्माता ओपनएआई र गुगलसँग आफ्नो प्रयोगकर्ता डेटा शेयर गर्न सम्झौता गरिसकेको छ । सीईओ हफम्यानले भनेका छन्, “रेडिट इन्टरनेटमा रहेका थोरै प्लेटफर्ममध्ये एक हो, जो वास्तविक सर्च डेस्टिनेसन (गन्तव्य) बन्न सक्ने क्षमता राख्छ । किनभने यहाँ वास्तविक मानिसहरूका ज्ञान र कुराकानीहरू छन्, जुन अन्यत्र पाइँदैन ।”
सात करोड बढी साप्ताहिक प्रयोगकर्ता रहेको यो प्लेटफर्मले अब सर्चलाई आफ्नो ‘सेन्ट्रल फिचर’ बनाउन लागेको हो । यो लक्ष्य हासिल गर्न कम्पनीले ‘रेडिट आन्सर्स’ (Reddit Answers) नामक फिचर सबैका लागि विस्तार गर्ने बताएको छ । यो सुविधा हाल एक दर्जन बढी देशमा उपलब्ध छ ।
डिसेम्बर २०२३ मा सुरु भएको यो एआई-सञ्चालित सुविधाका साप्ताहिक प्रयोगकर्ताको संख्या २०२४ मा १० लाख रहेकोमा गत वर्ष बढेर ६० लाख पुगेको थियो ।
टेकक्रन्चलाई दिएको एक विज्ञप्तिमा सीईओ हफम्यानले भने, “हामीले रेडिट सर्च र रेडिट आन्सर्सलाई एउटै सर्च अनुभवमा एकीकृत गर्दैछौं । यसलाई एपको सबैभन्दा अगाडि र केन्द्रमा ल्याउनेछौं । नयाँ वा पुराना दुवै प्रयोगकर्ताले अब एप खोल्दा सर्च बक्स तुरुन्तै देखिनेछ ।”
पछिल्ला केही वर्षयता इन्टरनेटमा कम गुणस्तरका सामग्री बढेपछि धेरै मानिसहरूले सान्दर्भिक नतिजा पाउन आफ्नो सर्चको अन्त्यमा ‘रेडिट’ शब्द थप्ने गरेका छन् । तर, गुगलले पनि इन्टरनेटबाट सामग्री संकलन गरी सारांश प्रस्तुत गर्ने आफ्नै एआई मोड ल्याएपछि रेडिटले यस्तै प्रकारको उत्पादन ल्याएर प्रतिस्पर्धामा उत्रिन खोजेको हो ।
पछिल्लो अध्यावधिक: साउन १८, २०८२ १२:३
