close

सांसदले बनाए आफ्नै एआई भर्सन, उनकै आबाजमा जनतासँग कुरा गर्ने

टेकपाना टेकपाना

साउन २२, २०८२ १९:८

सांसदले बनाए आफ्नै एआई भर्सन, उनकै आबाजमा जनतासँग कुरा गर्ने

काठमाडौँ । एक बेलायती सांसदले आफ्ना मतदाताहरूसँग अन्तरक्रिया गर्नका लागि आफ्नो एआई भर्सन तयार पारेका छन् । यसरी एआईको प्रयोग गर्ने उनी पहिलो राजनीतिज्ञ समेत बन्न सफल भएका छन् ।

लेबर पार्टीका सांसद मार्क सेवार्डले एक स्टार्टअप एआई फर्मसँगको सहकार्यमा आफ्नो भर्चुअल प्रतिनिधित्व तयार पारेका छन् । जसमा उनको आवाज प्रयोग गरिएको छ र मानिसहरूलाई स्थानीय समस्या वा नीतिगत सवालमा मद्दत माग्न अनुमति दिइएको छ ।

पश्चिम योर्कशायरका प्रतिनिधि सेवार्डले यसबाट सांसदको कार्यालय र मतदाताहरूबिचको सम्बन्धलाई सुदृढ पार्न मद्दत पुग्ने बताएका छन् । ३५ वर्षीय लिड्स साउथ वेस्ट र मोर्लेका ती सांसदका अनुसार यो प्रविधिले मानिसहरूलाई वर्षको ३६५ दिन २४ सै घण्टा सहयोग प्राप्त गर्न सघाउनेछ ।

सांसदको च्याटबटले सामान्य सोधपुछको जवाफ दिन सक्ने र सेवार्डलाई जटिल मुद्दाहरूको काममा ध्यान केन्द्रित गर्ने समयको बचत पनि हुन सक्छ । सेवार्डले एआईबाट प्रतिनिधित्व हुने अवसरहरूलाई अँगाल्नुपर्ने बताका छन् । उनले आफ्नो मोडेललाई प्रोटोटाइप भन्दै आवश्यकताअनुसार समायोजन गरिने बताएका छन् ।

यद्यपि, यस कदमले राजनीतिज्ञ र जनताबिच थप दूरी सिर्जना गर्न सक्ने कुरामा केहीले प्रश्न समेत उठाएका छन् । यसबाट सांसदहरूमाथिको जन विश्वास झन्-झन् बिग्रँदै जान सक्ने विश्लेषण समेत कतिपयले गरेका छन् ।

यसले परम्परागत रूपमा हुने सरसल्लाह र चुनावी अभियानको रूपमा घरदैलो गर्ने जस्ता तरिकाहरूलाई पूर्ण रूपमा प्रतिस्थापन नगर्न सक्छ । यद्यपि, यो आगामी परिवर्तनहरूको सङ्केत भने हुन सक्छ । संसार परिवर्तन भइरहेको छ । धेरै अघि सांसदलाई ईमेल गर्ने कुरा पनि कसैले सोचेको थिएन ।

मार्क सेवार्ड जुलाई २०२४ मा सांसद पदमा विजयी भएका थिए । यो नयाँ प्रविधिको प्रयोगले बेलायतको राजनीतिक परिदृश्यमा कसरी प्रभाव पार्छ भन्ने कुरा चाहिँ हेर्न बाँकी नै छ।

 

पछिल्लो अध्यावधिक: साउन २२, २०८२ १९:८