नेपाली कम्पनीले विदेशमा बेच्ने राइड शेयरिङ प्लेटफर्मको सोर्स कोड चोरी गरेको आरोपमा २ जना पक्राउ
साउन २३, २०८२ १८:१२
सांकेतिक तस्बिर
काठमाडौँ । नेपाली सफ्टवेयर कम्पनीले विदेशीलाई बिक्री गर्ने राइड शेयरिङ प्लेटफर्मको सोर्स कोड चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीका २६ वर्षीय सुजन कुमार महतो र धादिङका २४ वर्षीय सुमन श्रेष्ठ रहेका छन् ।
पक्राउ परेका एक जना सोही कम्पनीका पूर्वकर्मचारी हुन् । उनीहरू (महतो र श्रेष्ठ) ले वितरण गरेको राइड शेयरिङ प्लेटफर्मसँग आफ्नो सोर्सकोड मिलेको फेला परेपछि कम्पनीले साइबर ब्युरोमा निवेदन दिएको थियो । कम्पनीको बौद्धिक सम्पत्तिमा हानि पुऱ्याउने उद्देश्यले यो काम गरेको आरोप उनीहरूमाथि छ ।
प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषणका आधारमा ब्युरोले उनीहरूलाई पहिचान गरी बिहीबार काठमाडौँ र ललितपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका महतो सर्लाहीको चन्द्रनगर गाउँपालिका-५ का स्थायी बासिन्दा हुन् भने हाल काठमाडौँ बालाजुमा बस्दै आएका थिए । त्यसैगरी श्रेष्ठ धादिङको ज्वालामुखी गाउँपालिका-४ का स्थायी बासिन्दा भई ललितपुर धोबीघाटमा बस्दै आएका थिए ।
“पक्राउ परेका दुवैमाथि अनुसन्धान भइरहेको छ,” ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले टेकपानासँग भने, “यसमा अन्य व्यक्तिको संलग्नता पनि देखिएको छ । हामी अनुसन्धान गर्दैछौं ।”
ब्युरोले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा यो अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।
पछिल्लो अध्यावधिक: साउन २३, २०८२ १८:४२
