राइडरले यात्रुलाई यौन दुर्व्यवहार गरेको भन्दै ५ वर्षमा उबर विरुद्ध ४ लाख बढी उजुरी
साउन २५, २०८२ १२:८
काठमाडौँ । विश्वको प्रमुख राइड हेलिङ प्लेटफर्म उबरमाथि सन् २०१७ देखि २०२२ सम्मको पाँच वर्षको अवधिमा यौन आक्रमण र दुर्व्यवहारका झन्डै चार लाख उजुरी परेको एक गोप्य अदालती कागजातले खुलासा गरेको छ । यो संख्या कम्पनीले सार्वजनिक रूपमा स्वीकार गरेको तथ्याङ्कभन्दा ३० गुणाभन्दा बढी हो ।
द न्युयोर्क टाइम्सले अध्ययन गरी सार्वजनिक गरेको उक्त कागजात उबरविरुद्ध दायर गरिएको एक सामूहिक मुद्दाको अंश हो । सयौं ग्राहकले कम्पनीमाथि चालकको पृष्ठभूमि जाँचमा लापरबाही गरेको, घटनाबारे प्रहरीलाई सूचित नगरेको र यौन अपराधीहरूलाई प्लेटफर्म प्रयोग गर्न दिएको जस्ता गम्भीर आरोप लगाएका छन् ।
कम्पनीले भने आफ्नो आधिकारिक प्रतिवेदनमा २०१७ देखि २०२२ को अवधिमा यौन दुर्व्यवहारका १२ हजार ५२२ घटना मात्र भएको स्वीकारेको थियो । यो ठुलो अन्तरबारे स्पष्ट पार्दै उबरकी अमेरिकी सुरक्षा प्रमुख हन्ना नाइल्सले न्युयोर्क टाइम्सलाई भनिन्, “रिपोर्ट गरिएका चार लाखभन्दा बढी केसमध्ये अधिकांश अडिट गरिएका छैनन् र ती सबै यौन दुर्व्यवहारको श्रेणीमा नपर्न सक्छन् ।”
उनका अनुसार अधिकांश उजुरीहरू जिस्क्याउने, अनुचित टिप्पणी गर्ने, घुरेर हेर्ने वा अपमानजनक शब्द प्रयोग गर्ने जस्ता व्यवहारसँग सम्बन्धित छन् । यसमा शारीरिक आक्रमण समावेश छैन ।
कम्पनीले यात्रु र चालक दुवैको सुरक्षा सुधार गर्न विभिन्न उपाय अपनाएको जनाएको छ । यसै क्रममा, अमेरिकाका लस एन्जलस, सान फ्रान्सिस्को र डेट्रोइट जस्ता सहरमा महिला चालक वा यात्रुले चाहेमा महिलासँगै यात्रा गर्न मिल्ने ‘वुमन प्रिफरेन्स’ (महिला प्राथमिकता) फिचरको परीक्षण सुरु गरिएको छ ।
नाइल्सले २०१७ देखि २०२२ सम्म अमेरिकामा ६.३ अर्ब पटक यात्रा सम्पन्न भएको र रिपोर्ट गरिएका घटनाहरू त्यसको ०.००६ प्रतिशत मात्रै भएको तथ्याङ्क प्रस्तुत गरिन् । यद्यपि उनले भनेकी छिन्, “यौन दुर्व्यवहारको कुनै पनि घटना सह्य हुँदैन ।”
उबरले यस्ता धेरै यौन दुर्व्यवहारका घटना व्यक्तिगत रूपमा मिलाइसकेको बताइएको छ । तर यौन दुर्व्यवहारको मुद्दामा पहिलो सुनुवाइ यसै वर्षको सेप्टेम्बरमा सुरु हुने टाइम्सले उल्लेख गरेको छ ।
पछिल्लो अध्यावधिक: साउन २५, २०८२ १२:२३
