रास्वपाले सामाजिक सञ्जालमा अशिष्ट, अश्लील र असामाजिकको खेती गर्योः एमाले सांसद बर्तौला
साउन २७, २०८२ १५:१९
काठमाडौँ । सत्तारुढ दलका मुख्य सचेतक एवम् एमाले सांसद महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना कार्यकर्तालाई सामाजिक सञ्जालमा संगठित रूपमा परिचालन गरी राजनीतिक विरोधीहरूविरुद्ध गालीगलौज र विषवमन गराइरहेको गम्भीर आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदको बैठक प्रत्यक्ष प्रसारण हुनेबित्तिकै रास्वपा समर्थकहरूले प्रधानमन्त्री, मन्त्रीहरू र आफूलाई मन नपर्ने दलका नेताहरूविरुद्ध छताछुल्ल र संगठित ढंगबाट आक्रमण गर्ने गरेको बताए ।
“संसदको बैठक लाइभ हुने बित्तिकै तल प्रतिक्रियामा गालीगलौज सुरु हुन्छ,” सांसद बर्तौलाले भने, “उहाँहरूले अशिष्ट, अश्लील र असामाजिक शब्दहरू प्रयोग गरी सामाजिक सञ्जालमार्फत विषवमन गरिरहनुभएको छ ।”
बर्तौलाले यस्ता आक्रमणहरू व्यक्तिगत र पारिवारिक स्तरमा समेत हुने गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, “हामीलाई हनुमानको आरोप लगाउने, कसैको छोरा वा छोरी भन्ने, दलाल भन्ने, असाध्यै असामाजिक शब्दहरू, यस्ता प्रयोग गरेर कसैको झड्केलो छोरो, कसैको झड्केली छोरी, कसको के... यो खालको बाको नाममा, आमाका नाममा, छोराछोरीको नाममा, श्रीमतीको नाममा समेत, हजुरबुवाका नाममा समेत, स्वर्गीय भएका हजुरआमाका नाममा समेत गालीगलौजको श्रृंखला राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट, संगठित ढंगबाट, उहाँहरूको कार्यकर्ताहरूबाट भइरहेको छ ।”
आफ्नो सम्बोधनका क्रममा बर्तौलाले सहकारी ठगी प्रकरणमा रास्वपाले अपनाएको नीतिको पनि चर्को आलोचना गरे । उनले रास्वपाले राजनीतिक प्रतिशोधको नाममा हस्ताक्षर र चन्दा संकलन गरेको, तर जसका लागि यो अभियान चलाइएको थियो, उनै व्यक्तिले अदालतमा बिगो स्वीकार गरेर जमानतमा छुट्न निवेदन दिएको दाबी गरे ।
“बिगो स्वीकार गर्नु आफैँमा अपराधको स्वीकारोक्ति हो,” बर्तौलाले प्रश्न गरे, “तपाईंको दलको अध्यक्षले घुमाउरो तरिकाबाट अभियोग स्वीकार गरिसकेपछि राजनीतिक प्रतिशोध भनेर लगाइएको आरोप एउटा नाटक मात्र थियो भन्ने प्रमाणित भएन र ?”
उनले रास्वपालाई यस्ता गतिविधि तत्काल सच्याउन आग्रह गर्दै यस्तै कार्यशैलीले अन्ततः पार्टीलाई नै समाप्त पार्ने चेतावनी समेत दिए ।
बर्तौलाले भने-
“...यो संसद माननीय सदस्यहरूले बहिष्कार गर्नुभएको छ, तर बाहिर गएर सामाजिक सञ्जालमा प्रवेश गरेर छताछुल्ल ढंगबाट, संगठित ढंगबाट प्रधानमन्त्रीका विरुद्धमा, मन्त्रीहरूका विरुद्धमा, आफूलाई मन नपर्ने राजनीतिक दलका सांसद र नेताहरूका विरुद्धमा संगठित ढंगबाट गालीगलौजका शब्दहरू, त्यस्ता अशिष्ट, अश्लील, असामाजिक शब्दहरू सामाजिक सञ्जालमार्फत विषवमन गरिरहनु भएको छ ।
अहिले लाइभ चलिरहेको बेलामा सुरु भयो सभामुख महोदय । चलिसक्यो उहाँहरूबाट । के-के ती कमेन्टहरूमा आयो भन्ने कुरा अनुमान लाउन सकिन्छ । कतिपय कुरा भन्न गाह्रो छ । तथापि अहिले सुरु भइसक्यो होला । हामीलाई हनुमानको आरोप लगाउने, कसैको छोरा वा छोरी भन्ने, दलाल भन्ने, असाध्यै असामाजिक शब्दहरू, यस्ता प्रयोग गरेर कसैको झड्केलो छोरो, कसैको झड्केली छोरी, कसको के... यो खालको बाको नाममा, आमाका नाममा, छोराछोरीको नाममा, श्रीमतीको नाममा समेत, हजुरबुवाका नाममा समेत, स्वर्गीय भएका हजुरआमाका नाममा समेत गालीगलौजको श्रृंखला राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट, संगठित ढंगबाट, उहाँहरूको कार्यकर्ताहरूबाट भइरहेको छ ।
म आग्रह गर्न चाहन्छु, यस्ता कार्यशैलीहरूलाई तपाईंहरूले सच्याउनुस्, सुधार गर्नुस् । आज तपाईंहरूलाई ठीक लाग्ला यस्ता व्यवहारहरूले । प्रकारान्तरमा यही चिज तपाईंहरूलाई भारी हुन्छ । यही चिजले तपाईंहरूलाई समाप्त पार्छ । म यो आग्रह गर्न चाहन्छु ।...”
पछिल्लो अध्यावधिक: साउन २७, २०८२ १५:५३
