काठमाडौँ । दक्षिण कोरियाली कम्पनी सामसङले भारतको ग्रेटर नोएडास्थित आफ्नो कारखानाबाट ल्यापटपको उत्पादन सुरु गरेको छ । कम्पनीले यसअघि फिचर फोन, स्मार्टफोन, वेयरेबल र ट्याब्लेट उत्पादन गर्दै आएकै स्थानबाट ल्यापटप समेत बनाउन थालेको हो ।
आफ्नो उत्पादन क्षेत्र विस्तार गरेको सामसङले भारतमा अन्य उपकरणहरू पनि उत्पादन गर्ने योजना बनाएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । यसअघि केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले सामसङ दक्षिण पश्चिम एसियाका अध्यक्ष तथा सीईओ जेबी पार्क र कर्पोरेट उपाध्यक्ष एसपी चुनसँगको भेटपछि सामसङले भारतमा आफ्ना एड्भान्स प्रविधियुक्त उपकरणहरूको उत्पादन विस्तार गरिरहेको बताएका थिए ।
सामसङको भारतको ग्रेटर नोएडास्थित कारखाना सन् १९९६ मा स्थापना भएको थियो । जुन भारतमा स्थापना भएका सुरुवाती चरणका अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक्स उत्पादन फेसिलिटी मध्येको एक हो ।
यस वर्षको सुरुमा सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष तथा मोबाइल अनुभव (मोबाइल एक्सपिरियन्स) व्यवसायका प्रमुख टीएम रोहले कम्पनीले भारतमा ल्यापटप उत्पादनको तयारी सुरु गरिसकेको जानकारी गराएका थिए । भारतमा सामसङको विश्वकै दोस्रो ठुलो मोबाइल फोन उत्पादन इकाई रहेको छ ।
एप्पलपछि भारतबाट ह्यान्डसेट निर्यात गर्ने दोस्रो ठुलो कम्पनी पनि सामसङ नै हो । काउन्टरपोइन्ट रिसर्चको रिपोर्ट अनुसार मूल्य र सङ्ख्या दुवै हिसाबले सामसङ भारतमा दोस्रो ठुलो स्मार्टफोन प्लेयर हो । यद्यपि, साइबरमिडिया रिसर्चको रिपोर्ट अनुसार कम्पनी ट्याब्लेट पीसी क्षेत्रमा १५ प्रतिशत हिस्साका साथ दोस्रो ठुलो खेलाडी भए पनि ल्यापटपको मामिलामा भने अझै आफ्नो छाप छोड्न सकिरहेको छैन । नयाँ उत्पादनले सामसङलाई यो क्षेत्रमा आफ्नो बजार हिस्सा बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: भदौ ३, २०८२ १३:४७
