क्यानसहित विज्ञापन एजेन्सी कारबाहीमा परे पनि कान्तिपुरमा रोकिएन अनलाइन बेटिङको प्रचार
भदौ ३, २०८२ १३:६
काठमाडौँ । अवैध अनलाइन सट्टेबाजीको प्रचार गर्दा नेपाल क्रिकेट सङ्घ र दुई विज्ञापन एजेन्सी कारबाहीमा परे पनि कान्तिपुरले भने युट्युब तथा टेलिभिजन च्यानलमा त्यस्तै गतिविधिलाई जारी राखेको पाइएको छ । अस्ट्रेलियामा जारी टप इन्ड टी २० सिरिजको प्रत्यक्ष प्रसारणका क्रममा कान्तिपुर म्याक्स टिभी च्यानलमार्फत अनलाइन सट्टेबाजीको प्रचार भइरहेको पाइएको हो ।
नेपालको राष्ट्रिय क्रिकेट टिम समेत सहभागी उक्त प्रतियोगिताको लाइभ देखाउने क्रममा कान्तिपुरले अनलाइन सट्टेबाजी प्लेटफर्म डाफा बेटको प्रत्यक्ष रूपमा विज्ञापन गरिरहेको छ । जब कि गत सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका क्रममा क्यानले त्यस्ता प्लेटफर्मको सरोगेट विज्ञापन मात्रै गरेको थियो ।
सरोगेट विज्ञापन भनेको कुनै त्यस्तो सामानको विज्ञापन गर्नु हो, जसको सिधै प्रचार गर्न कानुनले रोक लगाएको हुन्छ (जस्तै: रक्सी, चुरोट, जुवा वा बेटिङ) । यस्तोमा कम्पनीले चलाखीपूर्वक त्यही ब्रान्ड, नाम र लोगो प्रयोग गरेर अर्को कुनै सामान्य उत्पादन (जस्तै पानी, सोडा, वा कुनै कार्यक्रम) को विज्ञापन गर्छन् ।
जब तपाईँले त्यो ‘पानी’ वा ‘सोडा’को विज्ञापन देख्नुहुन्छ, तपाईँको दिमागमा वास्तवमा त्यही ब्रान्डको ‘रक्सी’ वा ‘चुरोट’को झल्को आउँछ । यसरी घुमाउरो तरिकाले कानुनी छिद्रको प्रयोग गर्दै प्रतिबन्धित वस्तुको प्रचार भइरहेको हुन्छ ।
एनपीएलमा पनि त्यसरी नै डाफा न्युजको नाममा अनलाइन सञ्चार माध्यमको प्रचार गरेजस्तो गरी डाफाबेटको विज्ञापन गरिएको थियो । तर यतिखेर कान्तिपुर टिभीमा भने त्यसलाई पनि ओझेलमा पार्ने गरी प्रत्यक्ष रूपमा बेटिङको विज्ञापन भइरहेको छ ।
विज्ञापन बोर्डकी प्रमुख प्रशासकीय अधिकृत देवी खत्रीले राष्ट्रिय टेलिभिजनबाटै यस किसिमको विज्ञापन प्रसारण हुनु गम्भीर विषय भएको बताइन् । भर्खरै क्यान तथा विज्ञापन एजेन्सीहरूलाई यही विषयमा कारबाही गरिएको सुनाउँदै उनले कान्तिपुरको प्रसारित विज्ञापनमाथि पनि छानबिन हुने जानकारी दिइन् ।
"यस किसिमका अवैध वस्तु तथा सेवाको विज्ञापन गरेको पाइएमा उजुरी बिना पनि बोर्डले छानबिन गर्न सक्छ । सुरुमा स्पष्टीकरण सोधेर बोर्डले आवश्यक कारबाहीको विषय बनाउनेछ," उनले टेकपानासँग भनिन् ।
पछिल्लो अध्यावधिक: भदौ ३, २०८२ १४:९
