close

फ्याक्टचेकः भारतमा टिकटक-पब्जी खुले भन्दै ‘NEB Result & News’ लगायतका पेजले फैलाए गलत सूचना

हिक्मत आचार्य हिक्मत आचार्य

भदौ ७, २०८२ २०:१४

फ्याक्टचेकः भारतमा टिकटक-पब्जी खुले भन्दै ‘NEB Result & News’ लगायतका पेजले फैलाए गलत सूचना

काठमाडौँ । ‘एनईबी रिजल्ट एन्ड न्युज’ नामक पेजले गएको शुक्रबार राति ११:१७ बजे छिमेकी देश भारतमा पाँच वर्षपछि टिकटकमाथिको प्रतिबन्ध फुकुवा भएको भन्दै पोस्ट गर्‍यो । त्यसको भोलिपल्ट अर्थात् आज शनिबार बिहान ८ बजे सोही पेजले भारतमा पब्जीमाथिको प्रतिबन्ध पनि फुकुवा भएको भन्दै अर्को पोस्ट गर्‍यो । त्यसपछि सामाजिक सञ्जालमा भारतमा टिकटक, पब्जी लगायतका चिनियाँ एपमाथिको प्रतिबन्ध हटेको दाबी भाइरल भइरहेको छ । टेकपाना फ्याक्टचेकका क्रममा यो सूचना मिथ्या रहेको पाइएको छ । भारतले प्रतिबन्धित कुनै पनि चिनियाँ एप फुकुवा गरेको छैन ।

दाबी

फेसबुकमा ‘NEB Result & News’ नाम भएको पेजले शुक्रबार राति ११ः१७ बजे टिकटक सम्बन्धी पोस्ट राख्यो । पोस्टको क्याप्सनमा लेखिएको थियो, “Big News for TikTok Lover: छिमेकी मुलुक भारतमा प्रतिबन्ध लगाइएको पाँच वर्षपछी TikTok खुल्ला गरिएको छ ।”

सो पोस्टमा टिकटकको लोगो खुलेको फोन हातमा राखेर खिचिएको फोटो राखिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १२ हजार बढी रियाक्सन, ९५३ कमेन्ट आएका छन् भने पोस्ट ७१ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

‘NEB Result & News’ ले टिकटकसम्बन्धी राखेको पोस्ट फेसबुकमा खोज्दा अन्य प्रयोगकर्ताले पनि राखेको पाइयो । ‘नेपाली भ्युज’ नामको फेसबुक पेजले पनि सोही पोस्ट राखेको छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ३४७ रियाक्सन, ३२ कमेन्ट र तीन ओटा शेयर आएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । 

सानु कुँवर बिस्ट नामकी फेसबुक प्रयोगकर्ताले पनि उही आशयको पोस्ट राखेकी छिन् । पोस्टमा लेखिएको छ, “भारत मा प्रतिबन्ध लगाइएको पाँच वर्षपछी TikTok खुल्ला गरिएको छ । के तपाईँको खुल्यो त टिकटक” । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

यीबाहेक अन्य प्रयोगकर्ताले पनि सोही क्याप्सन कपी-पेस्ट गर्दै पोस्ट गरेका छन् । यही विषयको अनुसन्धान गर्दै जाने क्रममा ‘NEB Result & News’ ले शनिबार बिहान ८ बजे पब्जी सम्बन्धी पोस्ट राखेको भेटियो । त्यसको क्याप्सनमा लेखिएको छ, “छिमेकी मुलुक भारतमा प्रतिबन्ध लगाएको पाँच वर्षपछी PUBG खुल्ला गरिएको छ ।” यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ५८०० बढी रियाक्सन, ३१९ कमेन्ट र १० ओटा शेयर आएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

यस विषयमा अनुसन्धान गर्ने क्रममा टेकपाना फ्याक्टचेक डेस्कले गुगल एड्भान्स सर्चमा पछिल्लो एक हप्तामा प्रकाशित भएका टिकटक र पब्जी सम्बन्धी समाचार खोज्यो । त्यस क्रममा भारतीय समाचार एजेन्सी ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले टिकटकका विषयमा समाचार लेखेको पाइयो ।

पीटीआईका अनुसार सरकारले टिकटकसहित कुनै पनि चिनियाँ एप खोल्ने सूचना वा निर्देशन जारी गरेको छैन । केही व्यक्तिले टिकटकको वेबसाइट खुलेको पाएपछि भारतमा टिकटकमाथि लागेको प्रतिबन्ध हट्ने सम्भावनाबारे चर्चा भएको थियो । “भारत सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने कुनै निर्णय गरेको छैन । यसबारे आउने कुनै पनि खबर वा भनाइ गलत र भ्रम फैलाउने किसिमका हुन्,” पीटीआईले स्रोतको भनाइ राखेको छ ।

प्रविधि सम्बन्धी समाचार लेख्ने सञ्चारमाध्यम टेकक्रन्चले टिकटकका प्रवक्तासँग यस विषयमा कुरा गरेको थियो । त्यस क्रममा टिकटकका प्रवक्ताले भारतको निर्देशन पालना गर्दै हालसम्म टिकटकलाई नखुलाइएको जानकारी दिएका थिए । 

टेकक्रन्चका अनुसार, ‘नेटवर्क लेभल मिसकन्फिग्युरेसन’ प्राविधिक त्रुटि हुँदा प्रतिबन्धित साइट खुल्ने गर्छन् । यो त्यही समस्याको हिस्सा भएको हुनसक्ने उनको भनाइ छ । टिकटक लगायतका अन्य प्रतिबन्धित साइट केही सीमित प्रयोगकर्ताले मात्र खोल्न सकेका थिए । कुनै पनि भारतीय सञ्चारमाध्यमले भारतमा टिकटक लगायत अन्य चिनियाँ एपमाथिको प्रतिबन्ध हटेकोबारे समाचार लेखेका छैनन् ।

टिकटकले आफूसँग सम्बन्धित हरेक समाचार आफ्नो न्युजरुम वेबसाइटमा राख्छ । तर, उक्त वेबसाइटमा पनि भारतमा टिकटकमाथिको प्रतिबन्ध हटेर खुलेको उल्लेख छैन । त्यस्तै पब्जीका सन्दर्भमा पनि कुनै पनि सञ्चारमाध्यमले प्रतिबन्ध हटेको सूचना राखेका छैनन् । 

केही समय टिकटकको वेबसाइट खुलेको पाएपछि भारतमा टिकटक, पब्जी लगायतका प्रतिबन्धित एप खुलेको हल्ला फैलिएको थियो । त्यसैको सिको गर्दै ‘NEB Result & News’ले भ्रामक पोस्ट राखेको पुष्टि हुन्छ ।  

जुन २०२० मा भारत सरकारले ‘भारतको सम्प्रभुता र सुरक्षाको निम्ति खतरा’ देखाउँदै टिकटक लगायत अन्य ५८ ओटा अन्य चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीको तत्कालीन सरकारले गरेको थियो । लद्दाख क्षेत्रको गलवान इलाकामा चिनियाँ सैनिकसँगको हिंसात्मक झडपमा २० जना भारतीय सैनिक मारिएपछि चिनियाँ सामान, सफ्टवेयर र एप बहिष्कार गर्नुपर्ने आवाज उठेका बेला भारतले यी एपमाथि प्रतिबन्ध लगाएको थियो । पछि सरकारले पब्जीजस्ता अन्य लोकप्रिय एपलाई समेत समेटेर प्रतिबन्धको दायरा फराकिलो बनाएको थियो ।

दाबी

छिमेकी मुलुक भारतमा टिकटक र पब्जीमाथि लगाइएको प्रतिबन्ध हटाइएको छ र यी एपहरू पाँच वर्षपछि पुनः सञ्चालनमा आएका छन् ।

दाबीकर्ता

‘एनईबी रिजल्ट एन्ड न्युज’ (NEB Result & News) , ‘नेपाली भ्युज’ नामका फेसबुक पेज, शोनु कुँवर बिस्ट नामक फेसबुक प्रयोगकर्ता तथा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य

  • भारत सरकारले टिकटक, पब्जी लगायत प्रतिबन्धित कुनै पनि चिनियाँ एप खोल्नेबारे कुनै निर्णय वा निर्देशन जारी गरेको छैन ।

  • टिकटकका प्रवक्ताले भारत सरकारको निर्देशनको पालना गर्दै एप भारतमा हालसम्म बन्द नै रहेको पुष्टि गरेका छन् ।

  • केही सीमित प्रयोगकर्ताले प्राविधिक त्रुटि (नेटवर्क लेभल मिसकन्फिग्युरेसन) का कारण टिकटकको वेबसाइट खोल्न सकेका थिए, जसले गर्दा एप खुलेको हल्ला फैलियो ।

  • कुनै पनि आधिकारिक भारतीय सञ्चारमाध्यमले टिकटक वा पब्जीमाथिको प्रतिबन्ध हटेको समाचार प्रकाशित गरेका छैनन् ।

  •  भारतले सन् २०२० को जुनमा राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टिकटक लगायत अन्य ५८ चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाएको थियो । पछि प्रतिबन्धको दायरा विस्तार गर्दै पब्जीसहितका एपमा पनि प्रतिबन्ध लाग्यो । यी सबै चिनियाँ एपमाथिको प्रतिबन्ध अझै कायम छ ।

निष्कर्ष

‘NEB Result & News’ लगायत अन्य फेसबुक पेजले भारतमा टिकटक र पब्जी खुला गरिएको भनी फैलाएको सूचना पूर्ण रूपमा मिथ्या छ । प्राविधिक गडबडीका कारण केही समय टिकटकको वेबसाइट खुलेको घटनालाई आधार बनाएर बिना प्रमाण यो हल्ला फैलाइएको हो । भारत सरकारले प्रतिबन्धित चिनियाँ एपहरू फुकुवा गरेको छैन ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य-जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य-जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: भदौ ८, २०८२ ९:३