दशैँको बेला पारेर कमिसनको खेलमा नम्बर प्लेटबाट नेपाली भाषा मेटाउन लागिएको भन्दै आन्दोलन घोषणा
भदौ ८, २०८२ १८:४६
काठमाडौँ । इम्बोस्ड नम्बर प्लेटको नाममा नेपाली देवनागरी लिपि मेटाउन खोजिएको भन्दै ‘जाग नेपाली’ नामक अभियानले आन्दोनको घोषणा गरेको छ । आइतबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरिएको हो ।
रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट बहिष्कार गर्दै इम्बोस्ड नम्बर जडान नगर्न समेत उक्त सङ्गठनले अपिल गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै जाग नेपालीका संयोजक डा दीपेश केसीले मातृ भाषामाथि आक्रमण भएको आरोप लगाए । दशैँको समयमा पारेर जनतालाई धम्की दिँदै १ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने घोषणा गरिएको उनको आरोप छ ।
संयोजक केसीले भने, “दशैँको बेला पारेर नेपाली जनता चाडबाडमा बसिरहेको बेलामा कोही सडकमा आउँदैनन् भनेर यिनीहरूले असोज १ गतेदेखि इम्बोस्ड नम्बर हाले हाल नत्र कारबाही गर्छु भनेर धम्की दिएका छन् ।” पुर्खाहरूले सयौँ वर्षदेखि जोगाएको भाषालाई सरकार मेट्न लागि परेको आरोप उनले लगाए ।
इम्बोस्ड नम्बर जडान हुन लाग्ने खर्च विदेशी कम्पनीले लैजाने बताउँदै उनले भने, “१० अर्बको, २० अर्बको, ३० अर्बको क्रमैसँगको खेल छ । यो पैसा नेपालमा रहँदैन । यो विदेशी कम्पनीले लैजान्छ र यिनीहरू कमिसनको खेल खेल्दैछन् ।” बङ्गलादेश लगायतका देशमा आफ्नै भाषामा इम्बोस्ड नम्बर भएकोमा नेपालमा भने देवनागरी लिपि हटाउन लागिएको उनले उल्लेख गरे ।
देवनागरी लिपि जोगाउन आम नागरिकलाई आन्दोलनमा उत्रिन र आफूहरूलाई साथ दिन समेत उनले अपिल गरे । आइतबारको पत्रकार सम्मेलन मार्फत नै ९ र १० भदौमा विभिन्न राजनीतिक दल र सङ्घ संस्थालाई ज्ञापनपत्र बुझाउने, ११ भदौमा समाजका विभिन्न संस्था र व्यक्तित्वहरूसँग परामर्श गर्ने र १३ भदौमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने समेत जानकारी दिइएको छ ।
पछिल्लो अध्यावधिक: भदौ ९, २०८२ १५:४४
