अब बाढी आउनु अघि नै सरकारले फोन गरेरै जोखिम क्षेत्रका जनतालाई चेतावनी दिने
भदौ ८, २०८२ १९:१८
काठमाडौँ । अब जोखिमयुक्त क्षेत्रमा विपद्को पूर्व जानकारी कल गरेर दिने गरी जल तथा मौसम पूर्वानुमान विभागले तयारी अघि बढाएको छ । नेपाल टेलिकमसँग सहकार्यमा इन्टर्याक्टिभ भ्वाइस रेस्पोन्स (आईभीआर) मार्फत कल गरेर जानकारी दिने गरी तयारी अघि बढाइएको हो ।
यसका लागि प्रणाली तयार भइसकेको, तर परीक्षणमा जान भने बाँकी रहेको जानकारी विभागका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुलीले दिए । पराजुलीले भने, “अहिले विपद् सम्बन्धी जानकारी एसएमएसबाट दिइन्छ । तर, एसएमएस बढ्न नजान्ने व्यक्तिहरू छुटेका छन् । विशेषगरि रातिको समयमा, बिदामा वा काममा व्यस्त हुँदा मानिसहरूले एसएमएस नहेर्ने समस्या छ। कलमार्फत सूचना दिँदा अझ प्रभावकारी हुन्छ भनेर परीक्षणको तयारी थालेका हौँ ।”
पछिल्लो दुई महिनादेखि आईभीआर प्रणाली बनाउन समय खर्चिएको र हाल उक्त प्रणाली परीक्षणको चरणमा पुगेको उनले बताए । उनले भने, “अर्को हप्ताबाट यसलाई परीक्षण गर्ने योजना छ ।”
यदि कुनै क्षेत्रमा बाढी आउने सम्भावना छ भने कल रेकर्ड गरेर त्यस क्षेत्रमा रहेका मानिसहरूलाई पठाइनेछ । प्रयोगकर्ताले फोन उठाउने बित्तिकै सो कलमा रेकर्डेड भ्वाइस मार्फत बाढी आउने सम्भावनाको बारेमा जानकारी सहित सुरक्षित रहन सल्लाह समेत दिइनेछ । यो भ्वाइस मेसेज नभई कलकै रूपमा एकसाथ जानेछ ।
सबैभन्दा पहिला मधेस वा लुम्बिनी प्रदेश मध्ये एउटा प्रदेशमा कलमार्फत पूर्वसूचना दिन सुरु गर्ने योजना रहेको उनले सुनाए । परीक्षणमा कलबाट विपद्को जानकारी दिने काम प्रभावकारी देखिएमा यसलाई देशभर लागु गर्न सकिने उनको भनाइ छ ।
तर, धेरै व्यक्तिलाई एकैचोटि धेरै फोन गर्दा सिस्टममा ट्राफिक जाम हुन सक्ने भएकाले परीक्षणका क्रममा विपद् सम्पर्क व्यक्तिहरूलाई फोन गर्ने योजना अघि सारिएको छ । परीक्षणका लागि विपद्को जोखिममा रहेका क्षेत्रका सम्बन्धित पालिका तथा वडाका सरोकारवालाहरू, जिल्ला तथा प्रदेशका सरोकारवालाहरू र विपद् सम्पर्क व्यक्तिहरूको नम्बरमा कल गरेर पूर्वसूचना दिइनेछ ।
प्रणालीको परीक्षणपछि यसलाई धेरै जनसङ्ख्यामा प्रयोग गर्न सकिन्छ/सकिँदैन, प्रणालीमा ट्राफिक जामको समस्या कस्तो रहन्छ वा देशैभर लागु गर्न सकिने सम्भावनाका बारेमा स्पष्ट धारणा बनाउन सकिने उनले बताए ।
यसअघि १२ असारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले वर्षायाममा हुने प्राकृतिक विपत्तिका बारेमा एसएमएसबाट दिँदै आएको विपद् सम्बन्धी पूर्व सूचना भरपर्दो नभएको भन्दै फोनमा कल गरेर नै जानकारी दिन सरकारलाई निर्देशन दिएको थियो । उक्त निर्देशनको करिब दुई महिनापछि विभागले कलबाट विपद्सम्बन्धी जानकारी दिने प्रणाली परीक्षणमा लैजान लागेको हो ।
पछिल्लो अध्यावधिक: भदौ ८, २०८२ १९:१८
